भोलि पनि एमालेले विरोध प्रदर्शन गर्ने

द एभरेष्ट पोष्ट
१५ चैत २०८२ १७:२७
भोलि पनि एमालेले विरोध प्रदर्शन गर्ने

काठ्माण्डौ- पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र कार्यकर्तामाथिको धरपकड विरुद्ध नेकपा (एमाले) ले सोमबार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

प्रहरी दमनको विरोधमा एमालेले माइतीघर मण्डलामा विशेष प्रदर्शन गर्न लागेको हो।

एमाले सचिव महेश बस्नेतका अनुसार भोलि दिउँसो १ बजे माइतीघर मण्डलामा एमाले बागमती प्रदेशको आयोजनामा विरोध कार्यक्रम हुँदैछ। उनले प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।

सचिव बस्नेतले बालेन सरकारले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्तामाथि व्यापक दमन गरेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको कदम निरंकुश र अधिनायकवादी भएको बताए।

आन्दोलनको दोस्रो दिन पनि सरकारले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेको उनले सुनाए। शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने नागरिकमाथि बल प्रयोग गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको उनको भनाइ छ।

यसअघि आइतबार ओली पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बबरमहल क्षेत्रमा झडप भएको थियो।

उक्त झडपका बीच एक जना घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

आफ्ना कार्यकर्तामाथि भएको धरपकड र पक्राउको विरोध गर्दै एमालेले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस