पीएम कप : बागमतीले गण्डकीलाई दियो २९५ रनको लक्ष्य
काठमाडौं- प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत अशुतोष घिरौया र इशान पाण्डेको अर्धशतीय पारीमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको बलियो लक्ष्य दिएको छ ।
तल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९४ रन बनाएको हो । बागमतीको लागि इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए । उनले ६१ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
ओपनर ब्याटर अशुतोष घिरौयाले ५९रनको अर्धशतकीय पारी खेले। उनले पहिलो विकेटको लागि शुभ कंसाकरसँग ६४ रनको साझेदारी गरेका थिए । अर्का ओपनर शुभले ४४ रन बनाए । वानडाउन आएका शिवम तिवारीले १८ रन बनाए । उत्तम मगरले ३० र विवेक मगरले २७ रन बनाए। कप्तान सन्दीप लामीछाने २६ रनमा अविजित रहे । गण्डकीको लागि कमल परियारले २ विकेट लिए ।
कप्तान विपिन खत्री, अंकित न्यौपाने, सिविन श्रेष्ठ र सुवास भण्डारीले १–१ विकेट लिए । बागमती प्रदेशको यो खेल दोस्रो खेल हो । बागमतीले पहिलो खेल एपीएफसँग हार बेहोरेको थियो । गण्डकी प्रदेशको भने जारी प्रतियोगितामा यो पहिलो खेल हो ।
