कांग्रेसले टुंगो लगायो समानुपातिक उम्मेदवार ( को-को परे ? विस्तृतमा )
काठमाण्डौं, १ चैत ।
नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना उम्मेदवारको टुंगो लगाएको छ ।
कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने निर्णय गरिएको जानकारी गराएका थिए ।
काँग्रेसले निर्वाचन आयोगमा पेश गरेको सूचीमा खस आर्य क्लष्टरमा दुई पुरुष र चार महिला रहेका छन् ।
त्यस्तै आदिवासी जनजाति, थारु, दलित, मधेशी र मुस्लिम कोटाबाट विभिन्न महिला र पुरुष उम्मेदवारको नाम सिफारिस गरिएको छ।
खस आर्य पुरुषबाट अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी नाम पठाएको काँग्रेसले क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलियालाई समेटेको छ ।
खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको शीर्ष तहका एक नेताले जानकारी गराए ।
आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित भएको छ ।
यसै क्लष्टरमा पुरुषबाट भिष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपांग) नाम पठाइएको छ । यो क्लष्टरबाट महिलाको संख्या अपुग भएको अवस्थामा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर प्राप्त गर्नेछिन् ।
थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार परेकी छन् । दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ ।
मधेशी कोटामा महिलामा निनुकुमारी कर्ण र रेखाकुमारी यादव परेका छन् । यसै क्लष्टरबाट पुरुषमा चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ । मुस्लिम कोटामा शाहजान खातुन परेकी छन् ।
