नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस सतहमा

द एभरेष्ट पोष्ट
२९ फागुन २०८२ ६:३८
नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस सतहमा

काठमाडौं । २०६४ सालको निर्वाचन भन्दा पनि खराब नतिजा आएपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस सतहमा आएको छ । सामाजिक सञ्जाल, मिडिया र संवादमार्फत नेताहरूले नीति र नेतृत्व परिवर्तनको बहस थालेको देखिन्छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराईसहितका नेताहरूले नीति र नेतृत्व परिवर्तनको अग्ररसता लिने सार्वजनिक प्रतिबद्धता गरेपछि पार्टीभित्र यो बहस सघन बनेको छ । उपाध्यक्ष पौडेलले फेसबुक स्टाटस लेखेर कार्यकर्ता पंक्तिलाई निराश नहुन आग्रह गर्दै पार्टी बदल्ने कामको अग्रसरता लिने बताएका छन् ।

‘विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाई रूपान्तरण गर्न र नेकपा एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ पौडेलले लेखेका थिए ।

पौडेलकै जस्तो भाषामा भट्टराईले पनि नेतृत्व परिवर्तनको प्रस्तावअगाडि सारेका छन् । ‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आपूभित्र सर्वाङगीण रूपान्तरणमार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनुपर्छ,’ भट्टराईको प्रस्ताव थियो ।

टेलिभिजनसँगको अन्तर्वार्तामा त भट्टराईले ओलीको राजीनामा नआए अप्रिय निर्णय लिन बाध्य हुने चेतावनीकै भाषामा बोलेका छन् । पदाधिकारी तहबाटै ओलीलाई राजीनामाको दबाव बढेपछि यो बहस तल्लो तहसम्मै पुगेको देखिन्छ ।

रूपन्देही-३ बाट निर्वाचन हारेका वासुदेव घिमिरेको स्टाटसलाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ । उनले एमाले नेताहरूलाई पञ्चसँगै तुलना गरेका छन् । ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरुको रटान उही- सबै ठीक छ, महाराज,’ घिमिरेको व्यंग्यात्मक स्टाटसमा लेखिएको छ ।

नेतृत्व फेर्नुपर्ने बहसको प्रतिवादमा भने सदाझै महासचिव शंकर पोखरेल उभिएका छन् । बिहीबार साँझ मात्रै स्टाटस लेखेर पोखरेलले पार्टीलाई कमजोर भ्रममा नपर्न आग्रह गरेका छन् ।

‘१६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य सुरु भइसकेको छ । यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन–२०८२ को समग्र समीक्षा गरिनेछ,’ पोखरेलले लेखेका छन्, ‘पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडिया मार्फत पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैलाइएको भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गर्दछु ।’

विगतमा पनि पोखरेलले यस्तै तर्क गर्ने गर्थे । सुदृढीकरण र पुनर्गठनको एजेन्डा नेताहरूले उठाउँदा उनी जनताबिच एमाले लोकप्रिय रहेको रिपोर्ट तयार पार्थे । यो निर्वाचनपछि पनि पार्टी संकटमा देखिएकाले सतिसालझैँ उभिनुपर्ने भाष्य जबर्जस्त आफू पक्षधरमार्फत फैलाउने प्रयत्नमा छन् ।

ओलीको एकलौटी चल्ने एमालेले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया अथवा निर्णय सार्वजनिक गरेको छैन । महासचिव पोखरेलसहितका केही नेताको संकेत हेर्दा ओलीको राजीनामा आउने देखिन्न ।

प्रचार संयोजक मीनबहादुर शाही पार्टीको बैठकबाट निर्णय आउने बताउँछन् । ‘अब सचिवालय बैठक बस्ला, त्यसले केन्द्रीय कमिटी बोलाउछ र समीक्षा हुन्छ,’ शाही भन्छन्, ‘तर बैठक कहिले बस्छ भन्ने चाहिँ जानकारी छैन ।’

पार्टी अनपेक्षित पराजय बेहोर्नु परेकाले गम्भीर समीक्षा हुने उनी बताउँछन् । ‘यति खराब नतिजा अपेक्षित थिएन । तर जनताले आफ्नो अधिकार प्रयोग गरेर दिएको नतिजा स्वीकार्नैपर्छ,’ शाही भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस