मिर्गौला र कलेजो बिग्रनेको संख्या बढ्दो, अस्पतालमा पालो कुर्नेको भिड
काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गर्न तीन सय र कलेजो प्रत्यारोपणका लागि १६० बिरामी पर्खाइमा छन् । नियमित डायलाइसिस र औषधि सेवनले शरीर गलेका उनीहरू प्रत्यारोपण गर्न आतुर छन् । तर, सीमित स्रोत–साधनका कारण सबै बिरामीको अंग प्रत्यारोपण प्रक्रिया तत्काल थाल्न सम्भव नभएको अस्पताल बताउँछ । सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्दै आइरहेको केन्द्रले नै प्रत्यारोपणको भार खेपिरहेको छ ।
केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना श्रेष्ठले नेपालमा हुने अंग प्रत्यारोपणमध्ये दुईतिहाइ प्रत्यारोपण केन्द्रले नै गर्ने गरेको बताइन् । उनका अनुसार केन्द्रले वार्षिक दुई सयको अंग प्रत्यारोपण गर्छ । तर, केन्द्रको आफ्नै भवन छैन, आफ्नै भवन भयो भने पाँच सय प्रत्यारोपण गर्न सकिने डा. श्रेष्ठको भनाइ छ ।
‘पर्खाइमा बस्ने बिरामी पनि उत्तिकै हुनुहुन्छ, दैनिक एकजनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । जहाँ बिरामीको जटिल प्रत्यारोपण भइरहेको छ, त्यहाँ सरकारले चासो दिएको छैन,’ उनले भनिन्, ‘यस्तो प्रकारको अस्पतालको पूर्वाधार राम्रो भए बिरामीलाई सहज हुन्थ्यो ।’
शरीरको अंगले काम गर्न नसक्ने भएपछि अंग प्रत्यारोपणका लागि अस्पतालमा पालो कुर्नेको लामो सूची छ । सीमित अस्पतालहरूमा मात्रै प्रत्यारोपण सेवा हुँदा र प्रक्रिया झन्झटिलो हुँदा बिरामीहरू लामो समयसम्म पालो कुर्न विवश छन् ।
हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १४ बिरामी मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । कलेजो प्रत्यारोपणका लागि कुर्ने बिरामी एकजना मात्रै रहेको अस्पतालले जनाएको छ । मिर्गौला मात्रै प्रत्यारोपण हुने वीर अस्पतालमा १० जना लाइनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ, प्रादेशिक अस्पताल सुर्खेतमा ६, भेरी प्रादेशिक अस्पतालमा पाँच बिरामीले मिर्गौला प्रत्यारोपणको पालो कुरिरहेका छन् ।
अंग प्रत्यारोपणका लागि निजी अस्पतालमा पनि बिरामी पर्खाइमा छन् । ललितपुरस्थित मेडिसिटी अस्पतालमा आठजना मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । किस्ट मेडिकल कलेजमा सात बिरामी मिर्गौला र तीनजना कलेजो प्रत्यारोपणको पर्खाइमा छन् । काठमाडौं मेडिकल कलेज (केएमसी)मा तीनजना कलेजो र ११ जना मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले अंग प्रत्यारोपणको प्रक्रिया नै झन्झटिलो भएकाले पालो कुर्ने बिरामीको संख्या बढ्दै गइरहेको बताए । बी एन्ड बी, नर्भिक, ग्रान्डी र सुमेरु अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुन्छ । तर, यी अस्पतालले लाइनमा रहेका बिरामीको तथ्यांक दिन मानेनन् ।
आफैँमा कठिन मानिने प्रत्यारोपणपछि नयाँ जीवन पाउने आशामा बिरामी एक वर्षसम्मको पालो कुरिरहेका छन् । डोनर नपाउने, पाए पनि म्याचिङ नगर्ने तथा रक्त समूह नमिल्ने, झन्झटिलो कानुनी प्रक्रिया, आर्थिक अभावलगायत समस्या अंग बिग्रिएकाले झेल्दै आइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो समय अंग प्रत्यारोपण गर्नेको संख्या बढ्दै गएको बताए । ‘अंग प्रत्यारोपण गर्न पहिले विदेश जान्थे, अहिले विदेशभन्दा नेपालमा प्रत्यारोपण गराउँछु भन्नेहरू धेरै छन्,’ उनले भने, ‘देशभर पाँच अस्पतालमा कलेजो र एक दर्जनजति अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन्छ, यो निजी र सरकारी दुवै अस्पतालतर्फको तथ्यांक हो । दुवैतर्फ गरी वार्षिक देशभर करिब आठ सयजनाको मिर्गौला र सयजनाको कलेजो प्रत्यारोपण हुन्छ, तर पर्खाइमा बस्नेको सूचीअनुसार यो पर्याप्त होइन ।’
भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपणका लागि पालो पर्खिनेको संख्या पाँच महिनाअघि भन्दा अहिले कम भएको छ । पाँच महिनाअघि एक हजार बिरामी मिर्गौला प्रत्यारोपण गर्ने पालोमा बसेका थिए । तर, हाल उक्त संख्यामध्ये केही घटेको हो । केन्द्रका अनुसार मस्तिष्क मृत्युबाट हुने अंगदानमा अलि सुधार भएको छ । अझ यसमा बढी जोड दिने हो भने सुधार हुने प्रत्यारोपणविद् बताउँछन् । धेरै त मिर्गौला नमिलेर नै लामो समय पालोमा बस्नेहरू रहेको केन्द्रले जनाएको छ ।
सहिद धर्मभक्तमा मात्रै मिर्गौला प्रत्यारोपणका लागि तीन सय र कलेजोका लागि १६० बिरामी पर्खाइमा
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंग प्रत्यारोपणका लागि पालो कुर्र्ने बिरामीको सूची निकै लामो छ । मिर्गौला प्रत्यारोपणका लागि ११ कात्तिकसम्मको तथ्यांक हेर्दा डोनरसहित उपस्थित भएका ११२ बिरामी पर्खाइमा छन् । यी बिरामी सबै प्रकारको चेकजाँच गरेर लिने तयारीमा बसेका हुन् । तर, यी सबैको मिर्गौला प्रत्यारोपण गरिसक्न एक वर्ष लाग्ने केन्द्रले जनाएको छ ।
त्यस्तै, ब्रेन डेथबाट आएको मिर्गौला प्रत्यारोपणको पर्खाइमा बसेका बिरामी १९२ जना छन् । उनीहरूको मिर्गौला प्रत्यारोपण गर्ने विभिन्न प्रक्रिया नमिलेको र डोनर नभेटिएका कारण ब्रेन डेथबाट आएको मिर्गौला लिन पर्खिएका हुन् । डोनर भेटिएका र सबै प्रक्रिया मिलेका बिरामीको तुलनामा ब्रेन डेथको मिर्गौला कुरिरहेका बिरामीको अंग प्रत्यारोपण गर्न एक वर्षभन्दा बढी लाग्ने केन्द्रले जनाएको छ । ब्रेन डेथबाट आएको मिर्गौला कुरिरहेकामध्ये ३१ जना तत्काल लिन सक्ने गरी तयारीमा बसेका छन् ।
