चुनावका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द हुने

द एभरेष्ट पोष्ट
२७ फागुन २०८२ १७:०५
चुनावका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द हुने

काठमाण्डौ- निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका लागि आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको छ । आयोगको हिजोको निर्णयअनुसार आजदेखि लागू हुनेगरी विशेष एकाइ र केन्द्रहरू बन्द गरिएको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी चुनावको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले विशेष एकाइ तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो ।

निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकार भएका निकायबीच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले गएको पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (इआइडीसी) स्थापना गरेको थियो ।

त्यस्तै, मतदाता र आमसर्वसाधारणका चुनावसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गएको माघ ५ गतेदेखि ‘कल सेन्टर’ र सुरक्षा निकायबीच सहकार्य तथा चुनाव प्रक्रियाको समग्र समन्वयका लागि गएको माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) सञ्चालनमा ल्याइएकामा मतदान एवम् मतगणनाको कार्य सम्पन्न भएपछि आजदेखि लागू हुनेगरी ती एकाइ र केन्द्रहरू बन्द गरिएको उनले बताए ।

प्रेस कार्यालयले आयोगका काम कारबाहीको सूचना प्रवाह, सञ्चारमाध्यमसँगको समन्वय र प्रेस ब्रिफिङ, दैनिक पत्रपत्रिकाका सामग्री विश्लेषण, आचारसंहिताविपरीतका सामग्री पहिचान र कारबाहीका लागि सिफारिस तथा मतदाता शिक्षाका सामग्री निर्माण गरेको छ । साथै कल सेन्टरले मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियाका अन्य विषयसमेत गरी आम मतदाताका ८ हजार २ सय २० जिज्ञासाको सम्बोधन गरेको आयोगले जनाएको छ ।

चुनाव अवधिमा केन्द्र र मातहतमा रही समन्वय, सूचना व्यवस्थापन तथा सेवा प्रवाहमा प्रत्यक्ष एवम् परोक्ष रूपमा संलग्न भएकोमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग तथा सम्बन्धित कार्यमा खटिनुभएका विज्ञ तथा सम्पूर्ण कर्मचारीहरूको समर्पण, दक्षता र सक्रियताप्रति आयोगले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस