एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन: ओली

द एभरेष्ट पोष्ट
२१ फागुन २०८२ १३:५२
एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले एमालेले स्पष्ट बहुमत ल्याउने र यदि कथम् कदाचित बहुमत नआए पनि सबैभन्दा ठूलो दल बन्ने जिकिर गरे। उनले भने, ‘एमालेले भर्षक बहुमत ल्याउँछ। कथम् कदाचित ल्याएन भने पनि प्रमुख पार्टीका रूपमा आउँछ।’

उनले एमालेको नेतृत्वमा सरकार बन्ने कुरामा आफू विश्वस्त रहेको प्रस्ट पारे।

भावी प्रधानमन्त्री को भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले आफू नै प्रधानमन्त्री बन्ने बताए। ‘मलाई मेरो पार्टीले प्रधानमन्त्री बन्न भनेको छ,’ उनले थपे, ‘मेरो पार्टीले भनेपछि देशले बनाउँछ। यसमा कुनै शंका नै छैन।’

अध्यक्ष ओलीले पछिल्लो समय चर्चामा रहेको नयाँ र पुराना दल भन्ने बहस देशको हितविपरीत भएको टिप्पणी गरे। उनले योगदान नभएका तत्त्वहरूले घृणा र प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाए।

‘अनावश्यक हल्ला र मतदातालाई दिग्भ्रमित पार्ने दुष्प्रयास भइरहेको छ,’ उनले भने, ‘कुनै योगदान नभएका स्वार्थी तत्त्वहरूले घृणा र प्रतिशोधको राजनीति गरेर देशलाई अन्योलमा पार्न खोजेका छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस