सुदूरपश्चिममा भोलिको मतदानका लागि अन्तिम तयारी : बुथ निर्माण कार्य तीव्र

द एभरेष्ट पोष्ट
२० फागुन २०८२ १५:२८
सुदूरपश्चिममा भोलिको मतदानका लागि अन्तिम तयारी : बुथ निर्माण कार्य तीव्र

यशोदा शर्मा,

कैलाली। सुदूरपश्चिमका विभिन्न मतदान स्थलहरूमा भोलि बिहान हुने मतदानका लागि बुथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। कतिपय स्थानमा निर्माण सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा अन्तिम तयारी भइरहेको छ। मतदान कार्यलाई व्यवस्थित बनाउन कर्मचारीहरू आ९आफ्नो मतदान स्थलमा पुगेर सबै आवश्यक प्रबन्ध मिलाइरहेका छन्।

कैलालीको क्षेत्र नम्बर ५ अन्तर्गत त्रिनगर माध्यमिक विद्यालयमा ८ वटा मतदान केन्द्रहरू रहेका छन्। त्यहाँ भइरहेको तयारीबारे जानकारी दिँदै मतदान अधिकृत जगदिश जोशीले भन्छन्, “हामीले मंगलवार सर्वदलीय बैठक आह्वान गरी मतदान कार्यलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा केही महत्वपूर्ण निर्णयहरू गरेका छौँ। यहाँ हिजोदेखि नै बुथ निर्माणको काम सुरु भएको हो। अहिले मतदान केन्द्रमा बेन्च राख्ने, बाँस गाड्ने र डोरी बाँध्ने जस्ता भौतिक व्यवस्थापनका कामहरू भइरहेका छन्। ”

उनका अनुसार अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूको सहजताका लागि विशेष बुथको समेत व्यवस्था भइसकेको छ । त्यसैगरी, निर्वाचन प्रक्रियालाई अगाडि बढाउन आजै मतदान प्रतिनिधिहरूलाई परिचय पत्र वितरण गरिँदैछ। मतदान अधिकृत दानवहादुर सुनारले परिचय पत्र वितरण पश्चात् भोलि बिहानैदेखि कर्मचारीहरू आ९आफ्नो बुथमा खटिने बताए। स्वयंसेवकहरू पनि परिचालन भएर भोलि बिहान ७ बजेदेखि नै मतदानको काम सुचारु गरिनेछ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा तयारीहरू लगभग पूरा भएको जानकारी दिए। उनका अनुसार प्रदेशभर रहेका कुल १ हजार १ सय ७६ मतदान स्थल र २ हजार १ सय ९९ मतदान केन्द्रहरूमा बुथ निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये कैलाली सबैभन्दा बढी ५ वटा निर्वाचन क्षेत्र भएको जिल्ला हो। कैलालीमा मात्र २ सय ३७ मतदान स्थल र ६ सय ४५ मतदान केन्द्रहरू रहेका छन्ज । जहाँ ५ लाख ५१ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन्। समग्र प्रदेशको कुरा गर्दा कुल १७ लाख १६ हजार ६ सय ६० मतदाता रहेका छन्।

अघिल्लो निर्वाचनको तुलनामा यस पटक प्रदेशभर ४६ हजार नयाँ मतदाताहरू थपिएका छन्। भोलि बिहानैबाट सुरु हुने मतदानका लागि कर्मचारी र सुरक्षाकर्मीहरूले सुरक्षा र व्यवस्थापनका सम्पूर्ण कामहरूलाई अन्तिम रूप दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस