कैलाली र कञ्चनपुरमा बाख्रामा ‘पीपीआर’ रोगको सङ्क्रमण पुष्टि
काठमाण्डौ- सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा ‘बाख्राको हैजा’ भनेर चिनिने पीपीआर रोगको सङ्क्रमण पुष्टि भएको छ । पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणअनुसार कैलालीको धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सङ्कलित नमूनाको नतिजा ‘पोजेटिभ’ आएको हो ।
प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार व्यावसायिक फार्म र स्थानीय किसानले पालेका बाख्रामा पीपीआरको सङ्क्रमण देखिएको छ । अनुसन्धानका क्रममा भारतबाट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी अवैध रूपमा भित्र्याएका बोकाबाट सङ्क्रमण फैलिएको पुष्टि भएको छ ।
वरिष्ठ पशु चिकित्सक जोशीले किसानलाई जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन आग्रह गर्नुभएको छ । पीपीआर सङ्क्रामक विषाणुजन्य रोग भएकाले छोटो समयमै ठूलो सङ्ख्यामा फैलिन सक्ने हुँदा सम्भव भएसम्मका उपाय अपनाउन किसानलाई सल्लाह छ ।
खोरमा रहेका बाख्रामा कडा ज्वरो आउने, मुखमा घाउ देखिने, आँखा–नाकबाट पानी बग्ने वा झाडापखाला लाग्नेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको पशु प्राविधिक वा भेटेरिनरी अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
