निर्वाचन आचारसंहिताले खुम्चिएको रानाथारु ‘होरी’
होरी आफ्नो ठूलो पर्व भए पनि निर्वाचन आचारसंहिता र माैन अवधिलाई रानाथारु समुदायले जिम्मेवारीका साथ पालना गरेका छन् ।
कैलाली । सुदूरपश्चिमको तराई जिल्ला कैलाली यतिबेला रङ र उमङ्गले रङ्गिएको हुनुपर्ने हो । चोक चोकमा होलीमा कार्यक्रम, मेला कहोत्सव हुनु पर्ने हो । तर यसपटक सुनसान छ । विशेष गरी यहाँका रानाथारु समुदायमा फागु पूर्णिमाभन्दा एक महिना अघिदेखि नै सुरु हुने ‘होरी’ (होली) को रौनक यसपटक भने निर्वाचनका कारण रूपमा खुम्चिएको छ ।
निर्वाचनको ‘मौन अवधि’ र आचारसंहिताको पालना गदर्ए रानाथारु बस्ती र धनगढीका मुख्य बजारहरू होरीमा शान्त देखिएका छन् । रानाथारु समुदायमा होली एक दिनको पर्व मात्र होइन । यो ३८ दिनसम्म मनाइने एउटा लामो उत्सव हो । माघ पूर्णिमाको दिनदेखि सुरु हुने यो पर्वमा राति–राति जाग्राम बसेर होरी गाउने र नाच्ने परम्परा छ । तर, यसपालि निर्वाचनको सुरक्षा संवेदनशीलता र भीडभाडमा लगाइएको प्रतिबन्धले गर्दा यो ऐतिहासिक परम्परामा सुन्यता छाएको छ । धनगढीका स्थानीय सेभि सिंह राना यस वर्षको होलीको सुनसान अवस्था देखेर अचम्मित छन् । आफ्नो समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्वमा पनि सुनसान हुँदा उनलाई खल्लो लागेको छ ।
‘हाम्रो होरी त झण्डै एक महिना अघिदेखि नै सुरु हुन्छ । सुरुमा राति राति मात्रै खेले पनि फागु पूर्णिमाको भोलिपल्टबाट दिउँसो पनि धुमधामका साथ खेल्न सुरु हुन्थ्यो,’ रानाले भनछन्, ‘यसपटक निर्वाचनको मौन अवधि सुरु भएकाले न राति खेल्न पाइयो, न त दिउँसो नै ।’ यस्तै अनुभव धनगढीकी रेखा चौधरीको पनि छ । विगतका वर्षहरूमा होलीको समयमा सडकमा खुट्टा राख्ने ठाउँ नहुने गरेको सम्झिँदै उनले भनिन्, ‘अघिल्ला वर्षहरूमा होलीको बेला अर्कै उल्लास हुन्थ्यो, बजारदेखि गाउँसम्म मान्छेहरूको चहलपहल हुन्थ्यो । तर यसपालि त होली जस्तो नै भइरहेको छैन । बजार मात्र होइन, गाउँघर पनि पूरै सुनसान छ ।’
उनका अनुसार निर्वाचनको माहोलले गर्दा मानिसहरू उत्सव मनाउनु भन्दा पनि निर्वाचनकै चर्चामा व्यस्त छन् । सामूहिक रूपमा बाहिर निस्किएका छैनन् । धेरै मान्छेहरू कतै जमघट भएको देखिदैन । होरी आफ्नो ठूलो पर्व भए पनि निर्वाचनको नियम र सुन्य समयलाई रानाथारु समुदायले जिम्मेवारीका साथ पालना गरेका छन् ।
परम्परागत रूपमा होरीका लागि महिनौँदेखि ना“चको तयारी गर्ने युवाहरू पनि यसपटक सान्त छन् । स्थानीय रामलखन राना भन्छन्, ‘हामीले यो वर्ष नयाँ पोसाक सहित सबै तयारी गरेका थियौँ । तर निर्वाचनको सुरक्षाका कारण समूहमा हिँड्न र चर्को आवाजमा गीत गाउन रोक लगाइएपछि पहिला जस्तो रमाइलो गर्न पाइएन ।’ उनले लोकतन्त्रको उत्सव निर्वाचन भएपनि त्यसका कारण आफ्नो संस्कृतिक उत्सवमा असर परेको बताए ।
बिक्री भएनन् होलीमा सामान
होलीको समयमा व्यापारिक कारोबार पनि ह्वात्तै बढ्ने गर्दथ्यो । तर धनगढी बजारमा व्यापार गर्दै आएका किराना व्यवसायीहरू पनि यसपटक निराश छन् । बजारमा रङ, पिचकारी र नयाँ कपडाको माग विगतको तुलनामा १० प्रतिशत पनि नभएको व्यवसायीहरूको भनाइ छ । धनगढीको रातोपुलमा कपडा व्यापार गरिरहेका सन्तोष थापा भन्छन, ‘बजारमा मान्छे नै छैनन् । एक–दुई जना मात्र फाट्टफुट्ट होली खेलिरहेका छन् । अरु वर्ष जस्तो होलि नै नमनाए पछि होलिको व्यापार कसरी हुनु ।’
जिल्ला प्रशासन कार्यालयले निर्वाचनको समयमा कुनै पनि प्रकारका ¥याली, भीडभाड वा तडकभडक गर्न रोक लगाएको छ । निर्वाचन आयोगले मौन अवधिमा उम्मेदवारहरूले घरदैलोमा पनि रोक लगाएको छ । यहि समयमा होलि जस्तो ठुलो सांस्कृतिक पर्व परेपछि सुरक्षा चुनौती थपिने भन्दै सरकारले मेला महोत्सव गर्न पनि रोक लगाएको थियो । जसका कारण रानाथारु बस्तीमा परम्परागत रूपमा नाचिने ‘होरी नाच’ उल्लासका साथ मनाउन पाइरहेका छैनन् ।
पहाडी भेगमा होली मनाएको भोलिपल्ट तराईमा मनाइने यो पर्व कैलालीको रानाथारु समुदायको पहिचान हो । तर, यसपटक निर्वाचनको ‘मौन अवधि’ ले कैलालीको सांस्कृतिक पर्व होलीको रौनक छाएन । यद्यपी राना थारु होरी भने आजबाट सकिने छैन । ३८ दिन सम्म मनाइने यो पर्व आगामी मंगलबार खख्डेहरा पर्व सम्म मनाइने छ ।
त्यसैले स्थानीय होली जस्तै मतदान गर्नको लागि पनि उत्साहित रहेको बताउँछन् । धनगढीको देवरीयाका भल्मन्सा जगन्नाथ रानाले निर्वाचन पछि उल्लासका साथ होरी सम्पन्न गर्ने बताए ।
