सुदूरपश्चिमबाट एक उपप्रधानसहित १४ पूर्वमन्त्री उम्मेदवार
धनगढी- सुदूरपश्चिम प्रदेशमका विभिन्न निर्वाचन क्षेत्रबाट एक जना पूर्वउपप्रधानमन्त्रीसहित १४ जना मन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चुनावमा होमिएकामध्ये पूर्वउप्रधानमन्त्री, पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री छन् ।
उपप्रधान, रक्षा तथा गृहसहितका मन्त्रालय समाल्नुभएका डा. भीमबहादुर रावल अछाम क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका छन् । लेखराज भट्ट कैलाली क्षेत्र नं. ४ बाट, एनपी साउद कञ्चनपुर क्षेत्र नं. ३ बाट, दामोदर भण्डारीलाई बैतडीबाट, दार्चुलाबाट गणेश ठगुन्ना, गौरीशङ्कर चौधरी कैलाली क्षेत्र नं. ३ बाट, बीना मगर कञ्चनपुर क्षेत्र नं। १ बाट, प्रेम आलेमगर कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका छन् । नेपाल सरकारका राज्यमन्त्री जनकराज गिरी बाजुरा र जनकराज चौधरी कैलाली क्षेत्र नंं. १ बाट उम्मेदवार बनेका छन् ।
सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्ट, आर्थिक मामिलामन्त्री भइसक्नुभएका तारा लामा तामाङ कञ्चनपुर क्षेत्र नं. १ बाट र आन्तरिक मामिला तथा आर्थिक मामिला मन्त्रालय समाल्नु भएका प्रकाशबहादुर शाह बाजुराबाट उम्मेदवार छन्।
यस्तै मानबहादुर सुनार कञ्चनपुर क्षेत्र नंं. ३ बाट उम्मेदवार बनेका छन् ।
चार पटक नेकपा (एमाले) बाट चुनाव जित्नुभएका डा। भीमबहादुर रावल अछाम क्षेत्र नं. १ बाट नेकपाको उम्मेदवार भएका छन् । उनी २०६४ मा समानुपातिकबाट संविधान सभा सदस्य पनि थिए। उनी नेपाली कांग्रेसका भरत स्वाँर, एमालेका दीपक साउदसँगै चुनावी मैदानमा छन्। सो क्षेत्रमा रावल, स्वाँर र साउदबिच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।
यस्तै कैलाली क्षेत्र नं. ४ बाट लेखराज भट्ट एमालेका उम्मेदवार बन्नु भएका लेखराज भट्ट २०६४ र २०७४ मा तत्कालीन माओवादीका उम्मेदवारका रूपमा विजयी भएका थिए । उनलाई कांग्रेसका गोरख विष्ट आनन्द र नेकपाका हरि चौधरी उत्सवले कडा टक्कर दिने बताइन्छ ।
तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएर पटक पटक सरकारमा पुग्नु भएका कांग्रेसका एनपी साउद कञ्चनपुर क्षेत्र नं. २ बाट उम्मेदवार छन्। उनलाई एमालेका वचनबहादुर सिंह, नेकपाका माधव पन्त र रास्वपाका दीपक बोहोराले टक्कर दिने अनुमान छ ।
एमालेबाट लगातार तीन पटक चुनाव जितेका पूर्वमन्त्री दामोदर भण्डारीलाई बैतडीमा कांग्रेसका चतुरबहादुर चन्दले कडा टक्कर दिने अनुमान छ । एमालेबाटै प्रतिनिधि सभा सदस्य भएर मन्त्री बनिसक्नु भएका दार्चुलाबाट गणेश ठगुन्नाको पनि कांग्रेसकै धर्मानन्द जोशीसँग प्रतिस्पर्धा रहेको छ ।
तराईको जिल्ला कैलाली क्षेत्र नं. ३ बाट एमालेका पूर्वमन्त्री गौरीशङ्कर चौधरी, नेकपाका वीरमान चौधरी, कांग्रेसका भीम बडुवालसित चुनावी मैदानमा छन्। तराईकै अर्को जिल्ला कञ्चनपुर–१ बाट नेकपाकी नेतृ पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा छन्। उनी २०७९ का प्रतिनिधि सभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता तारा लामा तामाङ र कांग्रेसका गोपीप्रसाद उपाध्यायसँग चुनावी मैदानमा छन्।
डोटीबाट लगातार तीन पटक चुनाव जित्नु भएका पूर्वमन्त्री प्रेम आलेमगर कैलाली क्षेत्र नंं. ५ बाट उम्मेदवार बनेका छन् । नेकपाका आले, कांग्रेसका नरनारायण शाह मनु, एमालेका यज्ञराज ढुङ्गाना र रास्वपाका डा. आनन्द चन्दसित चुनावी मैदानमा छन्।
यसै गरी कैलाली क्षेत्र नं. १ बाट नेपाल सरकारका राज्यमन्त्री भइसक्नु भएका कांग्रेसका जनकराज चौधरी नेकपाका रामलाल डगौरा थारू, एमालेका द्वारिकाप्रसाद न्यौपाने र उज्यालो नेपालका प्रदीप चौधरीसित चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।
त्यसै गरी सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट उम्मेदवार बनेका छन् । नेकपाका नेता भट्टसँग कांग्रेसका भरतबहादुर खड्का र एमालेका दीपक धामी चुनावी मैदानमा छन्।
आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय समाल्नुभएका प्रकाशबहादुर शाह बाजुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका छन्। उनले एमालेका लालबहादुर थापा र कांग्रेसका नेपाल सरकारका पूर्वराज्यमन्त्री जनकराज गिरीसित प्रतिस्पर्धा गर्नु परेको छ ।
प्रदेशको भूमि व्यवस्था र कृषि राज्यमन्त्री भइसक्नु भएका मानबहादुर सुनार कञ्चनपुर क्षेत्र नंं. ३ बाट उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका डा. दीपकप्रसाद भट्ट र कांग्रेसका हरिप्रसाद बोहोरा चुनावी मैदानमा छन्।
