धनगढी शैक्षिक हब बनिरहेको छ- उपकुलपति डा.जोशी
धनगढी १८ फागुन । धनगढीमा अवस्थित सिसिएस क्रिसेन्ट सिटी +2 कलेजको वार्षिकोत्सव आइतबार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष हरि रेग्मीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहको समुदघाटन प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा शिक्षाविद् डा.टीएन जोशीले गरेका हुन्।

सो अवसरमा बोल्दै उपकुलपति डा.जोशीले पछिल्लो समय धनगढी शैक्षिक हब भैरहेको उल्लेख गर्दे निजी विद्यालयहरूले गुणस्तरीय र सीपमूलक शिक्षा दिइरहेको बताए।
उनले सिसिएस विद्यालयले संस्कारयुक्त शिक्षामा जोड दिएकोमा खुशी ब्यक्त गर्दे सञ्चालकहरूको लगनशीलता र सामाजिक उत्तरदायित्वका कारण विद्यालयले फड्को मारेको बताए।
समारोहमा शिक्षा क्षेत्रमा योगदान पुर्याए बाफत जेसिज एभरेष्टका कार्यकारी निर्देशक करूणाकर पाण्डेय, एरिष्टो माविका प्रअ हरि क्षेत्री, त्रिभुवन माविका प्रअ सीताराम अवस्थीलगायतलाई सम्मानित गरिएको थियो। प्रमुख अतिथि उपकुलपति जोशीले उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा अभिभावक र विद्यार्थीहरूलाई पनि सम्मानित गरिएको थियो। विद्यालयका प्रअ अर्जुन नाथले स्वागत मन्तव्यसहित विद्यालय प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा वरिष्ठ शिक्षासेवी करूणाकर पाण्डेय, सीताराम अवस्थीलगायतले शुभेच्छा प्रकट गरेका थिए।

समारोहमा विद्यार्थीहरूले मौलिकता झल्किने आकर्षक नृत्य प्रस्तुत समेत प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक तथा अधिवक्ता शेरबहादुर बिष्टले गरेका थिए। कार्यक्रममा शिक्षक, अभिभावक, समाजसेवी, विद्यार्थी, पत्रकारलगायतको उल्लेख्य उपस्थिति थियो। सिसिएसमा हाल माध्यमिक तहसम्म गरी झण्डै अढाइ हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयका अध्यक्ष हरि रेग्मीले बताए।
