मध्यपूर्वका उडान अनिश्चितकालका लागि रद्द

द एभरेष्ट पोष्ट
१७ फागुन २०८२ ७:२१
मध्यपूर्वका उडान अनिश्चितकालका लागि  रद्द

काठमाडौं ।  अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र खाडी मुलुकका अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको जवाफी हमलाका कारण नेपालको अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको छ । नेपालबाट मध्यपूर्वका खाडी मुलुक र खाडी हुँदै पश्चिमी देश जाने उडान तथा उताबाट नेपाल आउने सबै उडान अनिश्चितकालका लागि रद्द गरिएका छन् । जसकारण शनिबार उडानका लागि त्रिभुवन विमानस्थल पुगेका हजारौँ यात्रु रोकिए ।

नेपालका दुई अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका साथै एयर अरेबिया, फ्लाई दुबई, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, कतार एयरलाइन्स र टर्किस एयरलाइन्सका उडान रद्द भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले मध्यपूर्व र पश्चिमतर्फका सम्पूर्ण उडान अनिश्चितकालका लागि रद्द भएको बताए । उनका अनुसार चीन, भारत, हङकङ, मलेसिया, सिंगापुरलगायत देशका उडान भने भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वतर्फ शनिबारका लागि आठ अन्तर्राष्ट्रिय एयरलाइन्सका २२ उडान/अवतरणको कार्यतालिका थियो । त्यसमध्ये बिहानी समयका सातवटा मात्रै उडान/अवतरण हुन सके । बाँकी रात्रिकालीन १५ उडान रद्द भए । हिमालय एयरलाइन्सको ९:४० मा कतारको दोहा जाने र १०:३० मा युएईको दुबई जाने उडानहरू रद्द भए । त्यस्तै, नेपाल एयरलाइन्सको ९:४५ मा दोहा जाने, ११:०० मा साउदी अरेबियाको दमाम जाने र ११:१५ मा दुबई जाने उडान रद्द भए । त्यस्तै, कुवेत एयरको १२:१५ मा कुवेत जाने, फ्लाई दुबईको १२:३० मा दुबई जाने उडान पनि रद्द भएका छन् । विभिन्न गन्तव्यमा जानका लागि विमानस्थल पुगेका यात्रु अलपत्र परेका छन् ।

नेपाल वायुसेवा निगमले २८ फेब्रुअरी (शनिबार) र १ मार्च (आइतबार)का लागि तालिका रहेको काठमाडौं–दुबई–काठमाडौं र काठमाडौं–दोहा–काठमाडौंका उडान रद्द भएको घोषणा गरेको छ । त्यस्तै, हिमालय एयरलाइन्सले मध्यपूर्वी आकाश मार्गमा जारी परिस्थितिका कारण दुबई, दमाम र दोहा गन्तव्यका आफ्ना सबै उडान अर्को सूचना नभएसम्मका लागि रद्द गरेको जानकारी गराएको छ । एयरलाइन्सहरूले थप जानकारीका लागि आफ्ना सामाजिक सञ्जाल तथा वेबसाइट नियमित रूपमा अवलोकन गर्नसमेत आग्रह गरेका छन् ।

कुवेत, युएई, कतार, इरान, इराक, जोर्डन, इजरायल, लेबनान र बहराइनलगायत देशले आफ्ना आकाशमा उडान रोकेका (एयर स्पेस बन्द गरेका) छन् । मध्यपूर्वको तनावले विश्वभरकै उडान प्रभावित भएको छ । मध्यपूर्वको आकाश हुँदै उड्ने जहाजहरूले अर्कै रुट प्रयोग गरिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक करिब १५ हजार यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिने गरेका छन् । सबैभन्दा धेरै उडान संख्या रहेको मध्यपूर्वतर्फको हवाई सेवा अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् । पछिल्लो एक महिना (१ जनवरीदेखि ३१ जनवरीसम्म) भित्रुवन अन्तर्राष्ट्रियय विमानस्थलमा कुल दुई हजार ९४९ अन्तर्राष्ट्रिय उडान तथा अवतरणबाट चार लाख ३० हजार २४८ यात्रुले हवाई यात्रा गरेका थिए । उक्त अवधिमा भएका एक हजार ४७५ अन्तर्राष्ट्रिय उडानबाट दुई लाख १० हजार ८८७ यात्रु विदेश उडेका थिए । त्यस्तै, एक हजार ४७४ अन्तर्राष्ट्रिय उडानबाट दुई लाख १९ हजार ३६१ यात्रु काठमाडौं अवतरण भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस