कञ्चनपुर–१ मा दुई पूर्व मन्त्रीलाई कांग्रेस र रास्वपाको चुनौती
महेन्द्रनगर : निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् । मौन अवधि सुरु हुन दुई दिन बाँकी रहँदा दलहरुले प्रचारप्रसार तीब्र बनाएका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा दुई पूर्व मन्त्री र कांग्रेस रास्वपाका युवा उम्मेदवारबीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।
नेकपा एमालेबाट पूर्व मन्त्री तारा लामा तामाङ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पूर्व मन्त्री विना मगर चुनावी मैदानमा छन् । यी दुई पूर्व मन्त्रीलाई चुनौती दिन नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता गोपीप्रसाद उपाध्यायलाई मैदानमा उतारेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकसिंह धामीलाई उम्मेदवार बनाएको छ । रास्वपाका धामी र कांग्रेसका उपाध्याय यस क्षेत्रका लागि नयाँ अनुहार हुन् । उनीहरु पहिलो पटक निर्वाचन लड्न लागेका हुन । मगर र तामाङ यस क्षेत्रका लागि पुराना अनुहार हुन ।
मगर २०७४ र तामाङ २०७९ मा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा एमाले माओवादीबीच भएको गठबन्धनबाट मगर प्रतिनिभिसभा र तामाङ प्रदेशसभाका सदस्य निर्वाचित भएका थिए । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी मगर खानेपानी मन्त्री बनेकी थिएन भने तामाङ सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।
यो क्षेत्रमा २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका वासुदेव भट्ट निर्वाचित भएका थिए । २०५१ मा भने नेकपा एमालेका रामकुमार ज्ञवाली निर्वाचित भए । २०५६ को निर्वाचनमा भने नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउदले कांग्रेसको विरासत जोगाएका थिए । २०६४ मा नेकपा (माओवादी) विजय भयो । २०७० मा भने कांग्रेसले फेरि आफ्नो अस्तित्व जोगायो । विगतको परिणामलाई हेर्दा २०४८, ०५६ र ०७० गरी ३ पटक नेपाली कांग्रेसले निर्वाचन जितेको छ । २०६४ र ०७४ मा नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा जितेको छ ।
२०७९ को निर्वाचनमा २८ वर्षपछि नेकपा एमालेले शानदार ‘कमब्याक’ गर्न सफल भएको थियो । तामाङले ५ हजार बढी मतान्तरले पूर्व मन्त्री मगरलाई पराजित गरेका थिए । तामाङले २४ हजार ८९२ मत ल्याउँदा मगरले १९ हजार ३४६ मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा मगरलाई कांग्रेसको साथ थियो ।
यो क्षेत्रमा चौकोणात्मक प्रतिष्पर्धा हुँदैछ । पुराना दलहरुलाई खास जोगाउनु पर्ने चुनौती समेत छ । कांग्रेसले परम्परागत मताधार र संगठनात्मक संरचनामाथि पार्टीले भरोसा गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर–१ का कार्यवाहक क्षेत्रीय सभापति चेतन राई कांग्रेसको पुरानो विरासत फर्काउने गरी निर्वाचनमा होमिएको बताए । ‘गत भदौमा भएको जेनजी आन्दोलनपछि युवाहरु आउनु पर्छ भन्ने मत बलियो भएकाले हाम्रो पार्टीले पनि यस पटक नयाँ युवालाई उम्मेदवार बनाएका छौ ।’
राइले भने, ‘हाम्रो उम्मेदवार जनतामाझ लोकप्रिय छन मतदाताबाट पनि राम्रो प्रतिक्रिया पाएका छौं, हामी जित्नेमा ढुक्क छौ ।’ २०७० पछिका निर्वाचनमा कांग्रेसले यस क्षेत्रमा जित निकाल्न सकेको छैन । यस पटक नयाँलाई मौका दिएर कांग्रेसले आफ्नो विरासत फर्काउन चाहेको छ । २०७९ मा यही क्षेत्रबाट निर्वाचित भएका एमालेका तारा लामा तामाङ गत निर्वाचनको सफलतालाई निरन्तरता दिने गरि आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएका छन् ।
तर उनले यस क्षेत्रमा विकासका काम गर्न नसकेको र संसदमा समेत यहाँका मुद्दाहरु उठाउन नसकेको जनगुनासो छ । यस क्षेत्रमा सुरुमा एमालेले पार्टीका केन्द्रिय सदस्य कमला बोहरालाई टिकट दिएको थियो । त्यसको २४ घण्टा नबित्दै बोहराको टिकट खोसेर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेका कारण पार्टीभित्र असन्तुष्टि बढेको छ । लामो समय पार्टीमा सक्रिय नेतृ कलशा महराले पार्टी नै छोडेकी छन् । तामाङलाई एकातर्फ नयाँ उम्मेदवारहरुले चुनौती दिएका छन भने अर्कोतर्फ पार्टीभित्रकै असन्तुष्टिले सकस छ । तर तारा लामा तामाङले भने आफू प्रदेश सरकारमा मन्त्री हुँदा र प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा थुप्रै विकासका काम गरेकाले आफूले यस पटक पनि निर्वाचन जित्ने दाबी गरेका गर्छन् ।
‘प्रदेशमा मन्त्री हुँदा र प्रतिनिधिसभामा हुँदा यस क्षेत्रको विकासका लागि थुप्रै काम गरेको छु, इमान्दार भएर जनताको समस्या समाधानका लागि लागेको छु’, तामाङले भने, ‘मैले गैरकानुनी काम र आर्थिक लाभ हुने काम गरेको छैन, यस पटक फेरि जनतामा गएको छु ।’ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पूर्वमन्त्री विना मगर गत निर्वाचनको हारको बदला लिएर आफ्नो विगतको साख जोगाउने रणनीतिमा छिन ।
यसअघिका निर्वाचनमा गठबन्धनको सहारामा निर्वाचन जितेकी मगरलाई यस पटकको निर्वाचन त्यति सहज छैन । २०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन समाजवादी पार्टीसँग गठबन्धन हुँदा समेत जित निकाल्न नसकेकी मगरलाई यस पटक एक्लै निर्वाचनमा जाँदा सहज छैन । मगरलाई पुरानो साख जोगाउने चुनौती छ ।
‘मैले मन्त्री हुँदा मेरो क्षमताले भ्याएसम्म थुप्रै विकास गरेको छु, सडक, खानेपानी र स्वास्थ्यलगायतका धेरै योजना सम्पन्न भएका छन्’, प्रतिनिधिसभा सदस्य उम्मेदवार मगरले भनिन्, ‘मैले हिजोका दिनमा गरेका विकास र त्यसको निरन्तरताका लागि यस क्षेत्रका मतदाताले मलाई जिताउने छन् ।’ अघिल्लो पटक हार व्यहोरे पनि यस पटक निर्वाचित हुनेमा उनी विश्वस्त छिन् ।
वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनक धामी पनि जनतामाझ लोकप्रिय छवी बनाएका व्यक्ति हुन् । एक वर्षअघि उनी नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका थिए । उनी एकातर्फ लोकप्रिय छवी र अहिले दलहरुप्रति देखिएको असन्तुष्टीका मत प्राप्त गरेर निर्वाचित हुने रणनीतिका साथ निर्वाचनमा होमिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता चन्द्रा ऐरले पुराना दलहरुप्रति जनता वाक्कदिक्क भइसकेकाले यस पटक नयाँलाई मौका दिने बताइन् । ‘जनताबाट पनि एक पटक हामीलाई मौका दिएर हेर्छौ भन्ने प्रतिक्रियाहरु आएका छन्’, उनले भनिन्, ‘हामीप्रति जनताले भरोसा गरेका छन् हाम्रो जित सुनिश्चित छ ।’ अन्य दलहरुभित्र देखिएको असन्तुष्टिको समेत फाइदा रास्वपालाई हुने उनको बुझाई छ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलाडाँडी र लालझाडी गाउँपालिका पर्छन् । यस क्षेत्रमा एक लाख एक हजार ७२४ मतदाता छन् ।-अन्नपुर्णबाट
