कमेडी च्याम्पियनमा प्रचण्ड र रेनुलाई व्यंग्य गरिएकोप्रति जेन-जी रेड फोर्सको आपत्ति
काठमाडौं । टिभी रियालिटी शो कमेडी नाइट विथ च्याम्पियन्समा नेकपा अध्यक्ष तथा पूर्वमेयर रेनु दाहालको क्यारिकेचर गरिएकोप्रति नेकपानिकट जेन-जी रेड फोर्स नेपालले आपत्ति जनाएको छ । उक्त शोको ४७ औं एपिसोडको ट्रेलर सार्वजनिक भएलगत्तै रेड फोर्सले विज्ञप्ति निकालेर विरोध जनाएको हो ।
कमेडी नाइट विथ च्याम्प्यिन्सको नयाँ एपिसोडमा बालकलाकार सुयसा खनालले रेनुको क्यारिकेचर गरेकी छिन् । हिजो जारी गरिएको ट्रेलरमा उनको एउटा क्लीप समावेश छ । कार्यक्रम सञ्चालक विशाल भण्डारीले ‘तपाईंको ड्याडीले अहिलेसम्म के महान काम गर्नुभयो ?’ भनेर सोध्दा ‘रेनु’ ले जवाफ दिएकी छन्, ‘आफैंले सुरु गरेको पार्टी आफैंले सकाउनुभयो ।’ यही संवादमा रेड फोर्सले आपत्ति जनाएको हो । यस्तो टिप्पणीले प्रचण्डमाथि व्यंग्य प्रहार भएको र उनको राजनीतिक योगदान, त्याग र ऐतिहासिक भूमिकालाई अत्यन्तै हल्का ढंगले प्रस्तुत गरेको अनुभूति भएको विज्ञप्तिमा उल्लेख छ ।
रेड फोर्सका नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै कमेडी नाइट्स विथ च्याम्पियनको एपिसोड ४७ को ट्रेलर सार्वजनिक भएको सन्दर्भमा उक्त भिडियोमा आदरणीय नेतृ रेनु दाहालको चरित्रचित्रण गर्दै हाम्रो नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख व्यक्तित्व तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजकप्रति व्यंग्य प्रहार गरिएको देखिएको छ । यस विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यसले हामीलाई अत्यन्त आपत्तिजनक महसुस गराएको छ ।’
‘हामीलाई थाहा छ, हास्य-व्यंग्य कलाकारहरूको पेशा नै दर्शकलाई हसाउनु हो, र त्यो सजिलो काम होइन । तथापि, सार्वजनिक व्यक्तित्वका विषयमा प्रस्तुति दिँदा ऐतिहासिक योगदान र संवेदनशील पक्षप्रति न्यूनतम सम्मान र जिम्मेवारी अपेक्षित हुन्छ । त्यसैले, आगामी दिनमा आदरणीय नेतृत्वप्रति टिप्पणी गर्दा अभिव्यक्ति स्वतन्त्रताको मूल्य र त्यसका लागि भएको संघर्षलाई स्मरण गर्दै सन्तुलित र जिम्मेवार ढंगले प्रस्तुत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’
यता बालकलाकार सुयसा खनालले रेड फोर्सको नाममा जारी विज्ञप्तिमा नै आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले हास्यव्यंग्य गर्न पाउने स्वतन्त्रतामाथि बन्देज लगाउने दुस्प्रयासको संज्ञा दिएकी छन् । राजतन्त्रमा समेत हास्यव्यंग्य गर्न पाउने स्वतन्त्रता थियो भन्ने उनले स्मरण गराएकी छन् ।
