क्रिकेट म्याचकै क्रममा मौरीले टोकेर अम्पायरको मृत्यु, दर्जनौँ खेलाडी घाइते
काठमाडौं । भारतमा क्रिकेट खेल भइरहेका बेला मौरीको झुन्डले आक्रमण गर्दा एक अम्पायरको ज्यान गएको छ । उत्तर प्रदेशस्थित उन्नाव जिल्लामा भएको उक्त घटनामा ६३ वर्षीय अम्पायर माणिक गुप्ताको ज्यान गएको हो ।
मौरीको टोकाइबाट उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बुधवार साँझ शुक्लागञ्ज क्षेत्रको सप्री मैदानमा क्रिकेट खेल चलिरहेको थियो । कानपुर क्रिकेट एसोसिएसनसँग आबद्ध अम्पायर माणिक गुप्ता खेल सञ्चालन गरिरहेका थिए । दोस्रो इनिङ्सअन्तर्गत ‘ड्रिंक्स ब्रेक’का क्रममा अचानक मौरीको ठूलो झुन्ड मैदानमा प्रवेश गरी खेलाडी र अम्पायरमाथि हमला गर्यो ।
मौरीको आक्रमणबाट जोगिन खेलाडी र अम्पायर मैदानमै पल्टिएका थिए । सामान्यतया मौरीबाट बच्न यही नै गरिन्छ । तर पनि मौरीले निरन्तर डंक हानेपछि मैदानमा भागदौड मच्चिएको थियो । घटनामा १० देखि १२ जना खेलाडी घाइते भएको जनाइएको छ ।
गम्भीर घाइते भएका अम्पायर गुप्तालाई कानपुरस्थित एक निजी नर्सिङ होममा उपचारका लागि लगिएको थियो । चिकित्सकले उनको अवस्था नाजुक रहेको बताएपछि प्राथमिक उपचारपछि अन्यत्र रिफर गरिएको थियो । तर उपचारकै क्रममा उनको दुखद निधन भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार खेलाडीहरू पानी पिइरहेका बेला मौरीको झुन्डले अचानक आक्रमण गरेको थियो । लखनउबाट आएका एक खेलाडीलाई समेत धेरै ठाउँमा डंक लागेको बताइएको छ ।
यसअघि पनि भारतमा यस्तै घटना भएको थियो । तिरुवनन्तपुरम मा आयोजित भारत ‘बी’ र इंग्ल्यान्ड लायन्सबीचको एकदिवसीय खेलका क्रममा मौरीको झुन्डले आक्रमण गरेको थियो । उक्त घटनामा धेरै जना घाइते भए पनि कुनै मानवीय क्षति भने भएको थिएन ।
