टी–२० विश्वकपः अफगानिस्तानको पहिलो जित

द एभरेष्ट पोष्ट
४ फागुन २०८२ १५:११
टी–२० विश्वकपः अफगानिस्तानको पहिलो जित

काठमाडौं- जारी टी–२० विश्वकपमा अफगानिस्तानले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अफगानिस्तानले यूएईलाई ५ विकेटले हराएको हो ।

यूएईले दिएको १६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि अजमतुल्लाह ओमारजाइले अलराउण्ड प्रदर्शन गरे । बलिङतर्फ चार विकेट लिएका अजमतुल्लाहले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २१ बलमा ४० रनसहित अविजित रहे । उनले ३ छक्का र २ चौका प्रहार गरे ।

यस्तै, इब्राहिम जाद्रानले ५३, डार्विस रसुलीले ३३, सेदकुल्लाह अटलले १६ तथा गुलाबदिन नइबले १३ रन जोडे ।

बलिङतर्फ यूएईका जुनैद सिद्धीकी र मुहम्मद अर्फानले दुई–दुई तथा मुहम्मद जवादुल्लाहले एक विकेट लिए ।

त्यसअघि अरुण जेटली मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १६० रन जोड्यो ।

उसका लागि शोहेब खानले अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ६ चौका र ४ छक्काको मद्धतले ६८ रन जोडे । यस्तै, अलिशान शराफुले ४०, हैदर अली र सय्यद हैदरले १३–१३ रन जोडे ।

बलिङतर्फ अफगानिस्तानका अजमतुल्लाह ओमारजाइले चार, मुजीब उर रहमानले दुई तथा राशिद खानले एक विकेट लिए ।

यसअघि पहिलो खेलमा अफगानिस्तान न्यूजिल्यान्डसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेल सुपर ओभरमा दक्षिण अफ्रिकासँग स्तब्ध बनेको थियो ।

अर्कोतर्फ यूएई न्यूजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा क्यानडालाई ५ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस