रास्वपाको दाबी : प्रतिव्यक्ति आय ३ हजार डलर, जीडीपी १ सय अर्ब
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७ फागुनमा नागरिक करारको नाममा घोषणापत्र जारी गर्ने भएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि रास्वपाले मुख्य गरी सुशासनलाई प्राथमिकता दिँदै चुनावमा नागरिक करार ल्याउन लागेको हो ।
उपसभापति स्वर्णिम वाग्लेले नागरिक करारका संक्षिप्त विषयवस्तु सार्वजनिक गर्दै सुशासन सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम, काम, काम, कनेक्टिभिटीजस्ता विषयलाई प्राथमिकताम राखेको जनाएका छन् ।
‘भ्रष्टाचारविरोधी महाअभियान’मार्फत विश्वसनीय, सदाचारी राज्य निर्माण गर्दै, सरकारी सेवाहरूको सर्वव्यापी डिजिटल डेलिभरीसहित भ्रष्टाचार सूचकांकमा भारी सुधार गर्ने प्रतिबद्धता छ । दलीयकरणको अन्त्य र २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्चायोग गठन गर्न प्रस्ताव गरिएको छ ।
औसत वार्षिक प्रतिव्यक्ति आय ३ हजार डलर नघाउन कुल गार्हस्थ्य उत्पादनको आकार १०० अर्ब डलर (प्रचलित मूल्यमा) पुर्याउने घोष्णा रास्वपाको छ ।
शतप्रतिशत बीमा गरिएको गुणस्तरीय स्वास्थ्य सेवा दिने उसको प्रतिबद्धता छ । सार्वजनिक शिक्षाको आमूल सुधार गर्ने, जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित ‘एकीकृत सामाजिक सुरक्षा’को ग्यारेन्टी गर्ने भनिएको छ ।
आधुनिक बैंकिङसहित वित्तीय सेवाहरूमा सबै नागरिकको पहुँचलगायत सख्त नियमनभित्रको सहकारी र लघु वित्त, मिटर ब्याज शोषणको अन्त्य गरिने रास्वपाको छ । रास्वपाले १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरेको छ । रोजगारीको लागि आईटी, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग र सेवा व्यापारलाई माध्यम बनाउने उसको घोषणा छ ।
कनेक्टिभिटीतर्फ अपर्याप्त एवं असुरक्षित सडकको कमजोरीको विकल्पमा ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने रास्वपाको प्रतिबद्धता छ ।
प्रतिस्पर्धी अर्थतन्त्रका लागि गुणस्तरीय सडक र हवाई सञ्जाल आवश्यक भएको रास्वपाको भनाइ छ । भरोसायोग्य उजी ग्रीड र सबै बस्तीमा तीव्र गतिको सुलभ इन्टरनेट विस्तारको वाचा रास्वपाको घोषणापत्रमा आउँदै छ । १५ हजार मेगावाट विद्युत् जडित क्षमता, ३० हजार किमि राष्ट्रिय राजमार्ग निर्माण र १० वटा राष्ट्रिय महत्त्वका ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने प्रतिबद्धता रास्ववपवाको आउँदै छ ।
विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन मताधिकार, वंशजको नागरिकताको निरन्तरता, सार्वभौम डायस्पोरा फन्डको कार्यान्वयन, सुरक्षित लगानी र सम्मानित देश फिर्तीको वातावरण, मर्यादित वैदेशिक रोजगारीको नारा रास्वपाको करारपत्रमा उल्लेख छन् ।
‘तपाईंहरूले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करारबमोजिमका सर्तहरू डेलिभरीसहित ५ वर्षभित्र बुझाउन नसकी तपाईं नागरिकलाई मर्का पर्न गएमा, संविधान, मौजुदा कानुन र सामाजिक करार अनुसार हाम्रो ‘राजनैतिक नैतिकता र पद’बाट अर्कोपटकको निर्वाचनमा सजाय दिई असुलउपर गरी लिनुहोला,’ वाग्लेले शेयर गरेको करारपत्रको संक्षिप्त अंशमा उल्लेख छ, ‘यसमा हाम्रो पार्टीको सम्पूर्ण सदस्यहरूको मञ्जुरी छ । यो करारमा उल्लेख गरेको व्यहोरा साँचो हो, झुटा ठहरे सहुँला बुझाऊँला । काबुबाहिरको परिस्थितिबाहेक हामी पूरा गर्न नसकिने वाचा बाँड्दैनौँ, बरु तपाईंहरूको राजनीतिक विश्वासको ऋणको करार गर्छौं ।’
