दल र उम्मेदवार आचारसंहिता उल्लंघन गर्दै
काठमाडौं । दल, उम्मेदवार र सार्वजनिक पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग प्रक्रियामै अल्झिएको छ । आयोगकै अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता दल, उम्मेदवार र सार्वजनिक पदाधिकारीहरूबाट उल्लंघन भएका छन् ।
निर्वाचन आयोगले ४ माघ रातिदेखि लागू गरेको आचारसंहिता, २०८२ लागू भइसकेको २३ दिन बितिसक्दा पनि कसैलाई कारबाही गरेको छैन । आयोगले ४ माघ रातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको थियो । जबकि यसअघि आयोगले आचारसंहिता उल्लंघनमा कठोर र सजायमुखी हुने दाबी गरेको थियो ।
ऐनअनुसार दल र उम्मेदवारले आचारसंहिता उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना र राष्ट्रसेवक कर्मचारीले उल्लंघन गरेमा विभागीय कारबाही हुने व्यवस्था छ । यदि उल्लंघनले निर्वाचनको विश्वसनीयतामा असर पुर्याए ६ वर्षसम्म चुनावमा रोक वा उम्मेदवारी रद्द गर्न सकिने व्यवस्था निर्वाचन कसुर तथा सजाय ऐनमा छ ।
आयोगले प्रक्रियामै समय खर्चेको भन्दै पदाधिकारी तहमै असन्तुष्टि छ । ‘आयोगले यसपटक आचारसंहितामा कडाइ गर्ने, उल्लंघन गर्नेविरुद्ध सजायमुखी हुने भन्यो । तर, जवाफ माग्ने र थन्क्याउनेमै सीमित भयो,’ आयोगका एक पदाधिकारी भन्छन् । उनका अनुसार आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने र जवाफ प्राप्त भएपछि आयोगले चित्त बुझे सफाइ दिने र उल्लंघन पुष्टि भएमा कारबाहीको निर्णय गर्नुपर्छ । तर, अहिले जवाफ माग्ने र छोडिदिने गरिएको छ ।
आचारसंहिता लागू भएपछि दल, उम्मेदवार र पदाधिकारीहरूलाई ५४ वटा स्पष्टीकरण सोधिएको छ । तीमध्ये ३० वटा जवाफ प्राप्त भइसकेका छन् । केहीलाई दोहोर्याएर सोधिएको छ ।
आयोगले विभिन्न दल र उम्मेदवार, सार्वजनिक संस्था र पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ । यसमा प्रमुख दलका उम्मेदवार, शिक्षक, विश्वविद्यालय, स्थानीय निकायका पदाधिकारी, एनजिओ र अन्य संस्था समावेश छन् ।
कानुन महाशाखाका अनुसार आचारसंहिता उल्लंघनका घटना विभिन्न प्रकारका छन् । उजुरीको ट्रेन्ड हेर्दा मनोनयनको दिन बाजागाजा बजाएर र बढी संख्यामा जुलुस लिएर गएको, शिक्षकहरू दल र उम्मेदवारको प्रचारमा लागेको, स्थानीय तहको जनप्रतिनिधि कार्यस्थलमै प्रचारमा हिँडेको, जिन्सी वितरण गरेको, द्वेषपूर्ण अभिव्यक्ति दिएको, बालबालिकाको प्रयोग गरेको, टिसर्ट प्रयोगलगायत छन् ।
आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञ भट्टराईले प्राप्त जवाफहरू छानबिनकै क्रममा रहेको र त्यसपछि थप कारबाही हुने बताए । ‘५५ वटा स्पष्टीकरण सोधिएको छ । केहीको जवाफ प्राप्त भएको छ, अन्य हुने क्रममै छ,’ उनले भने, ‘जवाफहरू छानबिनको क्रममा छन्, त्यसपछि प्रमाणको आधारमा कारबाही हुनेछ ।’
प्रमुख भट्टराईले प्राप्त जवाफहरूमा दल तथा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको कुरा स्वीकार नगरेको पाइएको बताए । ‘कतिपयले जुलुस र आमसभामा बोलाएको भन्दा आफँै स्वस्फूत आएको भनेका छन् । अब त्यस्तो हुने छैन, गम्भीरतापूर्वक पालना गर्छाैँ भन्ने छ । स्विकारेको भन्दा पनि इन्कार गरेकै छन्,’ भट्टराईले भने, ‘उजुरीहरू खासै आएको छैन । पत्रपत्रिकामा आएको कुरालाई पनि नोटिसमा लिएका हुन्छौँ । कतिपय विषय अनुगमन अधिकृतबाट सोधिएको हुन्छ ।’
आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिबाट अनुगमन गरिरहेको छ । सहायक सिडिओलाई अनुगमन अधिकृत तोकेको छ । यसैगरी, कोलेनिका प्रमुखलाई उम्मेदवारको खर्च हेर्ने जिम्मेवारी तोकिएको छ । संघमा आचारसंहिता अनुगमन केन्द्रीय समिति छ । अन्य महाशाखाले पनि हेरिरहेका छन् । अर्काे आइआइपियू (इन्फर्मेसन इन्ट्रिगिटी युनिट) छ । जसले सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लंघन अनुगमन गर्छ । यसैगरी सूचना सम्प्रेषण युनिटले छापाको अनुगमन गर्दै आएको छ ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघनका घटनामा आयोगले प्रक्रिया पुर्याएर कारबाही गर्ने बताए ।
