निर्वाचन आयोगको निर्देशन- फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्नू
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ । मंगलबार बसेको आयोगको बैठकले आउँदो फागुन २१ गते निर्वाचनका लागि दल तथा उम्मेदवार फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरेर बुझाउन भनेको हो । आयोगका अनुसार राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्न भनिएको छ ।
‘संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम संवत् २०८२ साल फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने’, बैठकको निर्णयमा भनिएको छ ।
