रामेछापमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो
काठमाडौं- रामेछापमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको बस आज बिहान त्रिवेणी (मन्थली) नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् इन्सपेन्टर राजन तिमल्सिनाले नदीबाट १३ जनाको उद्धार गरिएको र मृत्युको आधिकारिक घोषणा भने हुन बाँकी रहेको बताए।
उनले भने, ‘ओखलढुंगा जाँदै गरेको बस दुर्घटना भएको हो। बस तामाकोशी नदीमा खसेको छ। उद्धार जारी राखेका छौं, शवको पहिचान भने हुन बाँकी रहेको छ।’
प्रहरी र स्थानीयले ४ जनाको जीवित उद्धार गरेका छन्। बसमा कति यात्रु थिए र के कारणले दुर्घटना भएको यकिन हुन बाँकी रहेको प्रहरीको भनाई छ।
अरनिको यातायात समितिका अनुसार जडिबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बसमा चालक, सहचालक र बस व्यवसायी ३ गरी जम्मा ११ जना सवार थिए।
