‘विश्व म्याराथन च्यालेञ्ज’ मा दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम

द एभरेष्ट पोष्ट
२५ माघ २०८२ ६:०८
‘विश्व म्याराथन च्यालेञ्ज’ मा दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम

मायामी, २४ माघ ।
नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् ।

जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन् ।

शुक्रवार अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’को समापन समारोहमा गिनिज बुकका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरे ।

अन्टार्टिकाबाट शुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुदै सातौ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो ।

अत्यन्त चुनौतीपूर्ण मानिने  ‘विश्व म्याराथन च्यालेञ्ज’ २०१५ बाट सञ्चालन हुदै आएको छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । म्याराथनमा जोशी सहित ३२ देशका ५६ धावक सहभागी थिए ।

जोशीले नेपाली सम्पदा र संस्कृतिको विश्वव्यापी प्रचार र आफू जन्मेको माटो तथा सम्पदाप्रतिको सम्मानका लागि दौरा सुरुवालमा म्याराथनमा सहभागी भएको बताए । सात वटै म्याराथनमा उनले अलग अलग दौरा सुरुवाल लगाएका थिए । सबै दौरा सुरुवाल काठमाण्डौंका विश्व गौतमले तयार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस