चुनावी मैदान ५५ पीचएडीधारी, सबैभन्दा बढी रास्वपाका
काठमाडाैं । यसपटककाे प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारमध्ये ५५ जना पीएचडी उपाधि प्राप्त व्यक्ति भएकाे पाइएकाे छ । निर्वाचन आयाेगले उपलब्ध गराएकाे विवरणअनुसार तीन हजार ४०६ उम्मेदवारमध्ये ५५ जना पीएचडीधारी भएकाे पाइएकाे हाे ।
आयाेगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पीएचडीधारीमध्ये १० जना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी ४५ जना विभिन्न राजनीतिक दलका छन् ।
स्वतन्त्र रूपमा मैदानमा उत्रिएका पीएचडीधारीमध्येमा झापा–२ बाट डा. युवराज संग्रौला, खोटाङबाट डा. राजकुमार राई, उदयपुर–१ बाट डा. देवराज रोका, काठमाडौं–१ बाट डा. शम्भु पोखरेल र काठमाडौं–३ बाट डा. सुरेशकुमार ढुंगाना चुनावी प्रतिस्पर्धामा छन्।
त्यस्तै, काठमाडौं–९ बाट डा. पञ्चकुमारी मानन्धर, ललितपुर–१ बाट डा. धर्मराज बोहरा, ललितपुर–३ बाट डा. अशोककुमार महर्जन, सिन्धुपाल्चोक–२ बाट डा. विजु श्रेष्ठ र कास्की–२ बाट डा. निरञ्जन कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
पीएचडीधारी उम्मेदवारमा रास्वपा अगाडि
दलीय उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सबैभन्दा धेरै पीएचडीधारी उम्मेदवार छन्। रास्वपाका तर्फबाट ९ जना पीएचडीधारी उम्मेदवार मैदानमा छन्।
तीमध्ये तनहुँ–१ बाट डा. स्वर्णिम वाग्ले, सोलुखुम्बुबाट डा. ऋषिधन थुलुङ राई, रामेछापबाट डा. कृष्णहरि बुढाथोकी, सर्लाही–४ बाट डा. अशोककुमार सिंह र नुवाकोट–१ बाट डा. विक्रम तिमिल्सिना छन्।
नुवाकोट–२ बाट डा. अच्युतम लामिछाने, स्याङ्जा–१ बाट डा. धनञ्जय रेग्मी, कैलाली–५ बाट डा. आनन्दबहादुर चन्द र डडेलधुरा–१ बाट डा. ताराप्रसाद जोशी पनि रास्वपाका पीएचडी उम्मेदवार हुन्।
मुख्य दलका पीचएडीधारी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ६ जना पीएचडीधारी उम्मेदवार प्रतिस्पर्धामा छन्। मोरङ–३ बाट डा. देउमान सम्वाह, चितवन–१ बाट डा. कृष्णराज पन्त, तनहुँ–२ बाट डा. सोमबहादुर थापा, हुम्लाबाट डा. दीपेन्द्र रोकाया, अछाम–१ बाट डा. भीमबहादुर रावल र कञ्चनपुर–२ बाट डा. माधवप्रसाद पन्त उम्मेदवार छन्।
यसैगरी, नेपाली कांग्रेसबाट ५ जना पीएचडीधारी उम्मेदवार मैदानमा उत्रिएका छन्। महोत्तरी–१ बाट डा. मुकेशराज काफ्ले, नुवाकोट–१ बाट डा. प्रकाशशरण महत, गुल्मी–१ बाट डा. चन्द्रकान्त भण्डारी, रोल्पाबाट डा. सुदनकुमार वली र प्युठान–१ बाट डा. गोविन्दराज पोखरेल कांग्रेसका उम्मेदवार हुन्।
नेकपा एमालेबाट संखुवासभाबाट डा. अर्जुनकुमार कार्की, काठमाडौं–९ बाट डा. अजयक्रान्ति शाक्य, काठमाडौं–४ बाट डा. राजन भट्टराई र कञ्चनपुर–३ बाट दीपकप्रसाद भट्ट गरी चार जना पीएचडीधारी उम्मेदवार छन्।
अन्यमा पनि
जनता समाजवादी पार्टी नेपालबाट ४ जना पीएचडीधारी उम्मेदवार छन्। सप्तरी–४ बाट डा. वाँवी सिंह, धनुषा–४ बाट डा. कृष्णचन्द्र प्रसाद साह, सर्लाही–३ बाट डा. जयप्रकाश राय र पर्सा–४ बाट डा. कृपासिन्धु प्रसाद उम्मेदवार छन्।
जनमत पार्टीका अध्यक्ष सिके राउत स्वयं पीएचडी डाक्टर हुन्। उनी सप्तरी–२ बाट उम्मेदवार छन्। यसै पार्टीबाट सिरहा–४ मा डा. वीरेन्द्रप्रसाद महतो र धनुषा–२ मा डा. सुरेन्द्रप्रसाद यादव पनि चुनावी दौडमा छन्।
