मतदाता भन्छन्, ‘नेताप्रति निराशा, परिवर्तनप्रति आशा’

द एभरेष्ट पोष्ट
२४ माघ २०८२ ११:२८
मतदाता भन्छन्, ‘नेताप्रति निराशा, परिवर्तनप्रति आशा’

यशोदा शर्मा/ धनगढी चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । चौतारो, चिया पसल जताततै निर्वाचन बारेका राजनीतिक गफ सुनिन्छन् । देशभर राजनीतिक सरगर्मी बढेको छ, तर कैलालीदेखि बझाङसम्म भेटिएका कतिपय मतदाता भने अझै पनि चुनावप्रति निराश छन्, त कतिपय नयाँ आशासहित मतदानको तयारीमा छन्।

कैलालीको धनगढी–३ की आशादेवी चौधरीकालागि चुनाव पाँच वर्ष पछि निर्वाह गर्ने कर्तव्य मात्रै हो । आफूले दिएको भोटले कसले जित्छ, कसले हार्छ उनलाई कुनै मतलब हुँदैन । जो सुकै नेताले जिते पनि आफैँले मिहिनेत गरेर गुजारा चलाउनु पर्ने चौधरी बत्ताउँछिन् ।

उसो त उनलाई निर्वाचन र मतदान बारे खासै जानकारी छैन । तर पनि मतदान प्रक्रियामा सहभागी भई मत दिनु पर्ने उनको बुझाइ छ । तर चुनावको बेला मात्रै घर घर पुग्ने, जितिसकेपछि चिन्नै छाड्ने नेताको प्रवृत्ति प्रति उनको विश्वास टुटेको छ ।

भन्छिन्, ‘नेताहरूले यो गर्छु त्यो गर्छु भन्छन् जितेपछि कहाँ जान्छन् कहाँ जान्छन् । त्यसैले जुन नेताले काम गर्छन् त्यही नेतालाई भोट हाल्छु ।’

बझाङ दुर्गा थली– २ की हिमकला मिश्र पेसाले शिक्षिका हुन । राजनीतिप्रति खासै चासो नराख्ने उनलाई आफ्नो मतको मूल्य भने थाहा छ । त्यसैले पार्टी र बिचार भन्दा पनि व्यक्ति हेरेर मतदान गर्नु पर्ने उनको बुझाई छ । ‘हामीले व्यक्तिलाई चिनेर उसको क्षमता हेरेर जितायौँ भने पछि उसले जनताको लागि काम गर्न सक्छ,’ हिमकला भन्छिन्, मतदानमा हामी सचेत हुनु पर्छ । किनकि त्यससँग हाम्रो भविष्य जोडिएको छ ।’

धनगढी ३ का सुनिता कठरिया यसपालि नयाँ उम्मेदवारलाई अवसर दिने सोचमा छिन् । एउटै नेतालाई भोट दिएर पटक पटक जिताउँदा केही काम नगरेको उनले गुनासो गरिन । ‘यो पालि त राम्रोसँग बुझेर विचार गरेर मात्र भोट हाल्छौँ सुनिता भन्छिन्, हामीले त पढ्न पाएनौ निःशुल्क पढ्न पाउनु पर्‍यो । सामान ल्याउनको लागि इन्डिया जानु पर्ने बाध्यता हटोस्,’ सुनिता भन्छिन् । सुनिता जस्तै दिनभरि मजदुरी गरेर गुजारा चलाउने चाँदनी कठरियालाई नयाँ उमेदवारहरुले जितेपछि जनताका लगि काम गर्छन् भन्ने ठुलो आशा छ । तर त्यो आशा निराशामा परिणत हुन्छनकि भन्ने पनि डर लाग्छ ।

अघिल्लो पुस्तालाई चुनाव र नेता प्रति विश्वास नभए पनि युवा मतदाता भने चुनावले प्रति उत्साहित छन् । बैतडीको दशरथ चन्द नगरपालिकाकी सुस्मिता बोहरा भोट हाल्न बैतडी जाने सोचमा छिन् । जेनजी आन्दोलन पछिको यो निर्वाचनले देशलाई नयाँ दिशा दिन्छ भन्ने उनलाई विश्वास छ । भन्छिन्,‘ पक्कै पनि जेनजी आन्दोलन पछि हाम्रो सरकार कुनै शिक्षित युवाले चलाओस् । हामीले चाहेको परिवर्तन होस भन्ने होस भन्ने सबैको अपेक्षा छ । त्यसैमा म पनि एक हुँ,’ सुस्मिताले भनिन् ।

तर जेनजी पुस्तामै पनि केही युवा चुनावलाई फरक तरिकाले हेर्छन् । धनगढी– ४ चटकपुरकाका युवा मतदाता सविन बोहराको भने अलि फरक मत छ । चुनावले देशमा विकास नभई आर्थिक भार मात्र बढिरहेको उनलाई लाग्छ । जितिसकेपछि जनप्रतिनिधिहरूले देश र जनताका आधारभूत आवश्यकता पुरा हुनुपर्ने उनको माग छ । उम्मेदवारले चुनावको वेला मात्र नभई पछि पनि जनतासँग समुन्वय र सहकार्य गर्नुपर्ने उनको भनाई छ । उनी जनप्रतिनिधिलाई सल्लाह दिन्छन्, ‘पहिला गएर किताब पढ्नुस् । फेसबुकको भरमा काम नगर्नुस् । अन्य देशमा कसरी विकास हुदैछ त्यो पनि हेर्नुहोस् ।’

यो चुनावलाई फरक पुस्ताले फरक रूपमा हेरेका छन् । तर निराशा, आशा र परिवर्तनको चाहनाबिच यो निर्वाचनलाई मतदाताले कसरी मूल्याङ्कन गर्छन् त्यो कुरा मतदान परिणामले नै देखाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस