प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
काठमाडौं । निर्वाचनको वातावरण अझै नबनेको भन्दै सरकारलाई दबाब दिँदै आएका एमाले अध्यक्ष केपी ओलीले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर तोकिएकै मितिमा एकै चरणमा मतदान हुनुपर्ने बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई घण्टा भएको छलफलमा ओलीले कुनै ठाउँमा निर्वाचन सरे वा रद्द हुने अवस्था भए लामो ग्याप नराख्न, मतदान सकिएलगत्तै मतगणना गर्न र सेनालाई ‘ब्याक फोर्स’का रूपमा मात्रै परिचालन गर्न पनि सुझाएका छन् ।
‘चुनाव एकै चरणमा होस्, ग्याप नहोस् भन्ने उहाँ (ओली)को कुरा थियो । कुनै कारणले ढिला भयो वा विभिन्न कारणले सार्नुपर्यो भने कुनै ठाउँमा रद्द गर्नुपर्दा लामो ग्याप नहोस्, मतदान सम्पन्न हुनासाथ तत्कालै गणना होस् र सेना ब्याक फोर्स भएकाले त्यही भूमिकामा रहोस् भन्ने उहाँको चासो थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले भने ।
जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा हुने र तोकिएको मितिभन्दा कुनै हालतमा तलमाथि नहुने स्पष्ट पारेकी थिइन् । ‘प्रधानमन्त्रीज्यूले निर्वाचन एकै चरणमा गर्छाैँ, कुनै पनि हालतमा तलमाथि हुँदैन भन्नुभयो,’ रावलले भने । छलफल सौहार्दपूर्ण भएको उनको भनाइ छ ।
भेटमा ओलीले आफू शुक्रबार झापा जान लागेको जानकारी पनि गराएका थिए । झापाको प्रसंग आएपछि प्रधानमन्त्री कार्कीले जिल्लामा शान्तिपूर्ण भूमिका खेलिदिन अनुरोध गरेकी थिइन् । ‘त्यहाँ (झापा ५ मा) शान्तिपूर्ण गरिदिनुस् । शान्तिपूर्ण गराउन तपाईंहरूको पनि भूमिका हुन्छ । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरौँ । अहिले शान्त र राम्रो वातावरण बनेको छ । राज्यले पंक्तिभेद गर्दैन । जसरी हुन्छ चुनाव सम्पन्न गरौँ,’ उनले भनेकी थिइन्, ‘हाम्रोतर्फबाट कहीँ–कतै समस्या छैन । हाम्रा कमजोरी कहीँ छन् भने भनिदिनुस्, सच्याउँछौँ । यो आपत्कालीन अवस्थाको चुनाव हो, नियमित पनि होइन । त्यसकारण यो अध्यायलाई राम्रोसँग समापन गरेर देशलाई नयाँ अध्यायमा लान जिम्मेवारपूर्वक लागौँ । हाम्रो पुस्ताको त झन् दायित्व छ ।’
जवाफमा अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण वातावरणमा विश्वास गर्ने पार्टी भएकाले आचारसंहिता राम्रोसँग पालना गर्ने बताएका थिए । ‘एमाले ध्वंसमा विश्वास गर्दैन । बल प्रयोग गर्दैन । आचारसंहिता पूर्ण पालना गर्छ । मेरो क्षेत्रमा इतिहासमा कहिल्यै पनि धाँधली, बुथ क्याप्चर भएको छैन । एमालेबाट समस्या हुँदैन । एमाले अनुशासित छ । आचारसंहिता सबैभन्दा राम्रोसँग एमालेले पालना गरेको छ,’ उनले भनेका थिए ।
कार्की र ओलीबिच पुराना दिनका विषयमा अनौपचारिक, पारिवारिक र स्वास्थ्य अवस्थाबारे पनि भलाकुसारी भएको थियो ।
