जलवायु अनुकूलनको डिजिटल नक्सा सार्वजनिक
काठमाण्डौ- नेपालका लागि तयार गरिएको जलवायु अनुकूलनको डिजिटल नक्सा सार्वजनिक गरिएको छ । कृषि क्षेत्र, विगतको मौसम र यससँग सम्बन्धित तथ्याङ्कलाई समेटेर तयार पारिएको डिजिटल नक्सा सार्वजनिक गरिएको हो ।
काठमाण्डौमा हिजो भएको कार्यक्रममा नक्सा सार्वजनिक गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले यो डिजिटल नक्सा नेपालको कृषि क्षेत्रका लागि उपयोगि हुने विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्ष देखिएको जलवायु परिवर्तन, यसको प्रभाव तथा जोखिमबाट कृषि क्षेत्रलाई जोगाउन अवलम्बन गर्न सकिने उपायहरुबारे नक्सा उपयोगी हुने बताए।
कार्यक्रममा बोर्लाग इन्स्टिट्यूट फर साउथ एसियाका क्षेत्रीय कार्यक्रम प्रमुख डा. प्रमोद अग्रवालले जलवायु परिवर्तन र जोखिम विश्वव्यापी समस्या रहेको र वर्तमान अवस्थामा नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काका वैज्ञानिकको सक्रियतामा तयार गरिएको डिजिटल नक्सा एक नयाँ प्रयास भएको बताए ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले नेपालका लागि डिजिटल नक्सा कृषि बाली र पशुपन्छीको क्षेत्रमा अबका दिनमा आवश्यक नीति निर्माणमा सहयोग गर्ने र जलवायु मैत्री प्रविधि अपनाउन महत्त्वपूर्ण हुने विचार व्यक्त गरे ।
कार्यक्रम आयोजक राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. तुलसी पौडेलले नक्साले जलवायु अनुकूलनका योजना तर्जुमा, वित्तीय संस्थाहरूमार्फत् जोखिम विश्लेषणमा आधारित ऋण प्रवाह, शिक्षा क्षेत्रमा अध्ययन र संस्थाहरूले मुख्य लाभ लिन सक्ने बताए ।
नक्साको सञ्चालन र उपयोगबारे नार्कका वैज्ञानिक डा. रोशनबाबु ओझा र डा. विवेक सापकोटाले प्रस्तुति दिएका थिए । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार यो नक्सा डिजिटल नेपालको राष्ट्रिय उद्देश्य पूरा गर्न महत्त्वपूर्ण कदम रहेको र माटोको डिजिटल नक्सापछि नार्कले यो क्षेत्रमा गरेको अर्को उपलब्धिका रूपमा रहेको छ ।
कार्यक्रममा विभिन्न संघीय, प्रादेशिक र पालिकाका कृषि र पशु कार्यालयका प्रमुखसहित विज्ञ तथा वैज्ञानिकहरूको उपस्थिति थियो । नक्साले मुख्य ८ वटा कृषि बाली र ५ वटा पशुपन्छीलाई समेटेको छ । यसले ठाउँ विशेष र समय अनुसारको उपयुक्त प्रविधि अपनाउन सहयोग पुग्ने अपेक्षा छ । नक्साबारे थप जानकारी लिन https://aana.narc.gov.np/ मा क्लिक गर्न सकिन्छ ।
