नेपालको लगातार दोस्रो हार, तेस्रो जितसँगै नेदरल्यान्ड्स ‘सुपर–६’ मा
आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ । बिहीबार सम्पन्न आफ्नो दोस्रो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको हो ।
लगातार तेस्रो जीत हात पारेको नेदरल्यान्ड्स प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुगेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३८ रनमात्र बनाउन सक्यो ।
अघिल्लो खेलजस्तै नेपाली ब्याटरले निराशाजनक प्रदर्शन गरे । कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । छैटौं नम्बरमा क्रिज समाल्न आएकी रुविना क्षेत्रीले सर्वाधिक अविजित ३७ रन बनाइन् । उनले ३२ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् ।
ओपनर बिन्दू रावल केवल १८ रन बनाउँदै दूर्भाग्यपूर्ण तारिकाले रन आउट हुँदै पेभेलियन फर्किइन् । उनले १५ बलमा चार चौका पनि हिर्काइन् ।
अर्की ओपनर सम्झना खड्का पनि आठ बलमा तीन चौकाको मद्दतले १४ रन बनाउँदै आउट भइन् । उप–कप्तान पूजा महतो पनि आठ रनभन्दा अगाडि बढ्न सकिनन् ।
कप्तान इन्दू बर्मा ६ र काजल श्रेष्ठ चार रनमै आउट भए । कविता जोशीले १८ बलमा दुई चौकाको मद्दतले १३ रन बटुलिन् ।
कविता कुँवर भने एक रनभन्दा अगाडि बढ्न सकिनन् । सीता रानामगरले अविजित २७ रन बनाइन् । खेलको अत्यतिर, रुविना र सीताले आक्रामक पाली खेल्दै टोलीलाई जितसम्म पुर्याउने प्रयास गरेका थिए । तर, त्यो सफल हुन सकेन । नेपालले अतिरिक्त रूपमा १० रन पायो । नेदरल्यान्ड्सका बलर इसाबेल भान डर वनिङले तीन विकेट लिइन् ।
त्यसअघि, दुवै ओपनरलाई सस्तैमा गुमाएको नेदरल्यान्ड्सका लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान बाबेट डे लिडले उत्कृष्ट पाली खेलेकी थिइन् ।
उनी केवल एक रनका कारण अर्धशतक पूरा गर्नबाट चुकिन् । उनले टोलीका लागि ४९ रनको योगदान गरिन् । यसक्रममा उनले ४७ बलको सामना गरी ६ चौका पनि हिर्काइन् ।
चौथो नम्बरकी ब्याटर स्टेर कालिसले पनि टोलीको खातामा महत्वपूर्ण ३० रन थपिन् । पेभेलियन फर्किनुअघि उनले ३४ बलमा दुई चौका प्रहार गरिन् ।
नेदरल्यान्ड्सले १५ रनको कुल स्कोरमै दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि कप्तान बाबेट डे लिड र स्टेर कालिसले टोलीको स्कोरलाई ९४ रनको सम्मानजनक स्थितिसम्म पूर्याएका थिए ।
ओपनर हिथर सिजर्स १३ रन बनाउँदै आउट भएकी थिइन् भने अर्की ओपनर फेब मोल्केनबोयरले खातासम्म खोल्न सकिनन् ।
पाँचौं नम्बरमा क्रिज समाल्न आएकी रोबिन रिजकेले अविजित १९, फ्रेडरिक ओभरडिकले पाँच र आइरिस ज्विलिङले अविजित १४ रन बनाए ।
नेदरल्यान्ड्सले अतिरिक्त रुपमा पनि १० रन पायो । नेपाली टोलीका बलर रुविना क्षेत्रीले दुई विकेट लिइन् । सुमन बिष्ट, पूजा महतो र रिया शर्माले पनि एक–एक विकेट हात पारे ।
