कैलालीमा टिकट वितरणमा रास्वपाभित्र असन्तुष्टि

द एभरेष्ट पोष्ट
६ माघ २०८२ १६:५०
कैलालीमा टिकट वितरणमा रास्वपाभित्र असन्तुष्टि

धनगढी, ५ माघ ।
प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवारहरुको चयनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीमा नेताहरूबीच मतभेद सुरु भएको छ ।

स्थापनाकालदेखि पार्टीको संगठन विस्तारमा सक्रिय विस्तारमा सक्रिय स्थानीय नेताहरुलाई पाखा लगाएर बाहिरबाट उम्मेदवार चयन गरेकोमा रास्वपाभित्र मतभेद शुरु भएको हो ।

कैलाली १ मा कोमल ज्ञवाली, २ मा केपी खनाल, कैलाली ३ मा लक्ष्मण थारू, ४ मा हरि रेग्मी, ५ मा आनन्द चन्दलाई रास्वपाले उम्मेदवार बनाएको छ ।

कैलाली क्षेत्र नम्बर १ मा रास्वपाका केन्द्रिय सदस्य तथा सुदूर पश्चिम प्रदेश सभापति प्रकाश बिष्ट आकांक्षी थिए । तर उनी टिकटबाट बञ्चित भए । समानुपातिकमा नअटाएका बिष्ट प्रत्यक्ष तर्फ पनि समावेश भएनन् । उनको ठाउँमा ज्ञवालीलाई रास्वपाले उम्मेदवार बनायो । बिष्ट स्थापना कालदेखि नै सुदूरपश्चिममा रास्वपाको संगठन विस्तारमा सक्रिय थिए । उनले आफू आकांक्षी भएको सामाजिक सञ्जाल मार्फत पनि प्रष्ट पारेका छन् । उनलाई उम्मेदवार नबनाईएकोमा रास्वपाका स्थानीय नेता कार्यकर्ताहरुले विरोध गरिरहेका छन् ।

कैलाली क्षेत्र नम्बर २ मा पनि स्थापनाकालदेखि नै पार्टीको संगठन विस्तारमा सक्रिय नेताहरुले टिकट पाएनन् । खनालले टिकट पाए । त्यहाँ पनि रास्वपामा मतभेद तिब्र भएको छ ।

कैलाली क्षेत्र नम्बर ३ मा लक्ष्मण थारुले टिकट पाएका छन् । नागरिक उन्मुक्ति पार्टीसंगको एकिकरण अभियानका क्रममा भएको सहमतीबाट थारुले टिकट पाएका हुन् । सहमती अनुसार कैलालीका ५ मध्ये २ निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी र थरुहट पक्षधरले टिकट पाएका हुन् ।

त्यस्तै कैलाली ५ मा पनि चन्दलाई टिकट दिएको विषयमा पनि नेताहरूले असन्तुष्ट व्यक्त गरेका छन् । कैलाली क्षेत्र नम्बर ५ मा एकल सिफारिस भएका भीमबहादुर बोहराले टिकट नै पाएनन् । रास्वपाले उनको ठाउँमा चितवनमा व्यवसाय गर्दै आएका आनन्द चन्दलाई टिकट दियो । चन्दलाई टिकट दिदा क्षेत्र नम्बर ५ मा बिरोध भईरहदा चन्दलाई व्यवस्थापन गर्ने क्रममा क्षेत्र नम्बर ५ का हरी रेग्मीलाई रास्वपाले क्षेत्र नम्बर ४ मा टिकट दियो । रेग्मीले टिकट पाएकोमा क्षेत्र नम्बर ४ का सभापति दीपक ओझा लगायतले सामाजिक सञ्जालमै उक्त निर्णयको विरोध गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस