रास्वपाबाट डडेल्धुरामा जोशी आकांक्षी, ढकाल नछोड्ने अडानमा
डडेल्धुरा, ४ माघ ।
उज्यालो नेपाल पार्टीबाट रास्वपामा मिसिएका डा. तारा जोशी डडेल्धुरामा प्रतिनिधि सभाको उम्मेदवारका लागि आकांक्षी छन् । यद्यपि सागर ढकालले डडेल्धुरा नछोड्ने अडानले रास्वपामा सहमती जुट्न सकेको छैन् ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकीकरण १२ दिनमै भंग हुदा उज्यालो पार्टीका उपाध्यक्ष रहेका जोशी पुरानो घरमा फर्किएनन् । रास्वपामै बसे ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचिमा नसमेटिएका जोशी प्रत्यक्ष तर्फ आकांक्षी हुदा ढकाल बाधक देखिएका हुन् ।
यसअघिको निर्वाचनमा शेर बहादुर देउवासंग पराजित भएका ढकालले १३ हजार मत पाएका थिए । जोशी प्रदेश सभामा निर्वाचित सांसद हुन् ।
नेकपा एमाले डडेल्धुराका पूर्व अध्यक्ष समेत रहेका जोशीले भारतको जेएनयु विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । उनी नेकपा बिभाजनपछि केही समय नेकपा एकीकृत समाजवादी पार्टीमा जोडिएपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
डडेल्धुरामा रास्वपाको संगठन विस्तार नभईसकेको अवस्थामा जोशी उपयुक्त उम्मेदवार हुने रास्वपाका स्थानीय कार्यकर्ताहरुको भनाई छ । यद्यपि जोशी बाहेक अरु पनि आकांक्षी छन् । अधिकांश आकांक्षी र कार्यकर्ताहरुले ढकालले आफ्नै गृहजिल्ला गुल्मी वा अन्यत्रबाट उम्मेदवारी दिनुपर्ने आग्रह गरिरहेका छन् ।
ढकाल भने कुनै पनि हालतमा डडेल्धुराबाटै उम्मेदवारी दिने अडानमा छन् । रास्वपाले डडेल्धुराका लागि उम्मेदवार छनौट नगरिसकेको भएपनि आफू नै आधिकारिक उम्मेदवार हुने दावी गर्दै आएका छन् ।
