इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा

द एभरेष्ट पोष्ट
२९ पुष २०८२ ९:३५
इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप दबाब बढाउन एक कठोर आर्थिक कदमको घोषणा गरेका छन् । आफ्नो ‘ट्रुथ सोसल’ अकाउन्टमार्फत ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध राख्ने जुनसुकै मुलुकले अमेरिकामा सामान निर्यात गर्दा २५ प्रतिशत अतिरिक्त भन्सार महसुल बुझाउनुपर्ने घोषणा गरेका हुन् ।

ट्रम्पले यो व्यवस्था तत्कालै लागू हुने दाबी गरेका छन्। उनले लेखेका  छन्, ‘इरानसँग व्यापार गर्ने देशहरूले अमेरिकासँग व्यापार गर्दा २५ प्रतिशत भन्सार बुझाउनुपर्नेछ।’ यद्यपि, ह्वाइट हाउसले यसबारे औपचारिक विज्ञप्ति सार्वजनिक गरिसकेको छैन। यो नियमले विशेषगरी इरानका प्रमुख व्यापारिक साझेदारहरू चीन, संयुक्त अरब इमिरेट्स (UAE) र भारतलाई प्रत्यक्ष असर पार्ने देखिन्छ।

इरानमा डिसेम्बर २८ देखि सुरु भएको सरकारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै ट्रम्प प्रशासन आक्रोशित छ। पछिल्लो तथ्यांकअनुसार दुई सातामा ५०० जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।

देशभर इन्टरनेट सेवा अवरुद्ध पारिएको छ। ट्रम्पले इलन मस्कसँग ‘स्टारलिङ्क’ मार्फत इरानमा इन्टरनेट सेवा पुनःस्थापना गर्ने विषयमा पनि छलफल भइरहेको रोयटर्सले बताएको छ ।   इरानलाई नियन्त्रणमा राख्न ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई जस्तै सैन्य बल प्रयोग गरी इरानी नेतृत्वलाई पक्राउ गर्ने विकल्पमा समेत छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानका महत्वपूर्ण संरचनामा गोप्य साइबर आक्रमण गर्ने विकल्पमा पनि उनले छलफल गरेको बताइएको छ  । यस्तै अहिले कार्यान्वयनमा ल्याइएको २५ प्रतिशत भन्सार महसुल जस्ता आर्थिक नाकाबन्दी लगाउने र  इरानभित्रका सरकारविरोधी समूहलाई अनलाइन र अन्य माध्यमबाट मद्दत गर्ने लगायतका ४ वटा विकल्पमा उनले छलफल गरेको बताइएको छ ।

यदि अमेरिकाले इरानमाथि सैन्य कारबाही गरेमा मध्यपूर्वको क्षेत्रीय सन्तुलन बिग्रने र इरानले इजरायल एवं अमेरिकी सैन्य अखडामा प्रत्याक्रमण गर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानमा भइरहेको हिंसाप्रति दुःख व्यक्त गर्दै अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारको सम्मान गर्न आग्रह गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस