पटक-पटक सांसद र मन्त्री भएका ठाकुरको अझै मरेन सांसद बन्ने तृष्णा

द एभरेष्ट पोष्ट
२४ पुष २०८२ ७:५०
पटक-पटक सांसद र मन्त्री भएका ठाकुरको अझै मरेन सांसद बन्ने तृष्णा

 काठमाडौं ।  आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिन लोसपा अध्यक्ष महन्थ ठाकुर आफ्ना पार्टी नेताकार्यकर्ताको सहारामा बुधबार दिउँसो करिब २: ३० बजेतिर जनकपुरको निर्वाचन कार्यालय पुगे ।

८३ वर्षीय ठाकुर निर्वाचन कार्यालय पुग्दा दुईजना कार्यकर्ताले दुवै हात कसेर समात्दै ल्याएका थिए । वृद्ध अवस्थाका उनलाई हिँड्नका लागि कार्यकर्ताले सहायता गरिरहेका थिए । केहीबेर कार्यालयमा बसे । कार्यकर्ताहरुले मनोनयनपत्र तयार गरे । सहीछाप गरेर उनले मनोनयन दर्ता गराए ।

पुनः त्यसै गरी कार्यकर्ताकै सहारामा उनी त्यहाँबाट निस्किए । कार्यालय अगाडि उपस्थित सञ्चारकर्मीले उम्मेदवारीको विषयमा जिज्ञासा राखे । तर बिना सहारा उभिने अवस्थामा समेत नभएका ठाकुर बोलेनन् । सञ्चारकर्मीको आग्रहमा उनको तर्फबाट लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारी नै बोले ।

‘कांग्रेस, एमाले, जसपा र लोसपाबीच राष्ट्रिय सभा निर्वाचनको लागि सहमति भएको थियो । त्यसमा अन्य तर्फ लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनु भयो’ भण्डारीले भने ।

जबकी उनै ठाकुर गत २०७९ को प्रतिनिधि सभाबाट दोस्रो पटक महोत्तरी क्षेत्र नं. ३ मा चुनाव लड्दा अन्तिम पटक जनतासँग मत मागेका थिए । मत माग्न जाँदा उनी भन्थे, ‘यो मेरो अन्तिम चुनाव हो, यसपछि म चुनाव लड्ने छैन ।’

तर, जेनजी आन्दोलनको क्रममा संसद्‌ विघटनसँगै आगामी फागुन २१ मा पुनः चुनाव घोषणा भएको छ । अगामी माघ ११ मा राष्ट्रिय सभा चुनाव हुँदैछ । आफैं उठबस समेत गर्न अप्ठेरो अवस्थामा उनी पुनः राष्ट्रिय सभा सदस्य चुनावको लागि उम्मेदवार बनेका छन् ।

उनी आफ्नै दल लोसपासहित नेकपा एमाले, नेपाली कांग्रेस र जसपाका नेपालका साझा उम्मेदवार हुन् । यसले राजनीति उथलपुथल नभए करिब उनी राष्ट्रिय सभामा सुरक्षित हुने छन् ।

ठाकुर राजनीति जीवनमा धेरै संघर्ष गर्दै उतार चढाव झेलेका नेता हुन् । त्यसले उनको व्यक्तित्वको प्रशंसा पनि हुन्छ । कतिपयले आदर्शवादी नेता मान्छन् । तर यो अवस्थामा पनि राष्ट्रिय सभा सदस्यको लागि दिएको उम्मेदवारीले कतिपयले उनलाई पदलोभी नेता भनेर सामाजिक सञ्जालमा व्यापक टिप्पणी भइरहेको छ ।

उमेर र शरीरले साथ नदिएपनि अध्यक्ष ठाकुरको लामो मजबुत वैचारिक अनुभव आज देश र मधेशलाई आवश्यक परेकोले उनको उम्मेदवारी परेको लोसपा मधेश प्रदेश अध्यक्षसमेत रहेको पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको तर्क छ ।

‘ शरीरले वृद्ध भएपनि वैचारिक रुपमा मजबुत हुनुहुन्छ । उहाँको लामो राजनीतिक अनुभव छ । वैचारिक रुपमा मजबुत नै हुनुहुन्छ । उहाँको विचार अहिले देश र मधेशलाई आवश्यक छ । परिस्थितिको माग पनि हो’ नेता सोनल भन्छन् ।

कुनै पनि अग्रजले लामो समय दिएको योगदानको कदर गर्नु र सम्मान गर्नु पनि दायित्व रहेको उनको भनाइ छ ।

‘पार्टीमा कोही अग्रज बुज्रुक भए उहाँको अनुभव र सम्मान पनि गर्नुपर्छ’ उनले भने ।

महोत्तरीको पिपरा गाउँपालिका एकरहिया घर भएका ठाकुरले २०७४ र २०७९ सालमा लोसपाबाट प्रतिनिधिसभामा चुनाव जितेका थिए ।

विद्यार्थी कालदेखि नेपाली कांग्रेस निकट विद्यार्थीमा लागेर राजनीति यात्रा अघि बढाएका ठाकुरले जेलनेल भोगे ।

२०३६ बहुदलीय व्यवस्था र २०४६ मा भएको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।

पहिलो पटक २०४८ सालमा कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जित्दै उनी संसदीय राजनीतिमा प्रवेश गरेका थिए । त्यस बेला उनी उपसभामुख बने । पुनः २०५१ को मध्यावधि निर्वाचनमा सर्लाहीबाटै चुनाव जितेपछि मन्त्री भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस