एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना

द एभरेष्ट पोष्ट
२८ मंसिर २०८२ ११:३१
एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि फाइनल खेलमा प्रतिष्पर्धा गरिरहेका दुवै टिमलाई शुभकामना दिएकी छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार उपाधिका लागि प्रतिष्पर्धा गरिरहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् शुभकामना दिएकी हुन् ।

‘सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना । यस उत्सवले सिंगो देशलाई जिताएको छ, जगाएको छ,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ ।’

लुम्बिनी लायन्स नेपालको राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको छ भने सुदूरपश्चिमको नेतृत्व गरिरहेका दिपेन्द्रसिंह ऐरी राष्ट्रिय टोलीका उपकप्तान हुन् ।

लायन्स र रोयल्सबीचको खेल दिउँसो साढे ३ बजे हुँदै छ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।

सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ ।

पहिलो संस्करणमा फाइनल पुगे पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । जनकपुर भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस