आप्रवासन नियममा र सीमा सुरक्षामा कडाइ गरेपछि अमेरिकाद्वारा जनवरीदेखि ८५ हजार भिसा रद्द
वासिङ्टन । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिँदै यस्तो घोषणा गरेको जनाएको छ ।
घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर “अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस् भन्ने शब्दसहित राखिएको थियो, जसले कडा भिसा नियमन राष्ट्रिय सुरक्षा प्रयासको केन्द्रबिन्दु हो भन्ने प्रशासनको तर्कलाई बलियो बनाएको छ । भिसा प्रणालीमा भएको कडाइलाई प्रष्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसा मध्ये आठ हजारभन्दा बढी विद्यार्थीको रहेको खुलासा गरेका छन् ।
असुरक्षित गाडी चलाउनु, चोरी र आक्रमण जस्ता अपराधका कारण पहिचान गरि गत वर्ष अधिकाशं भिसा रद्द गरेको अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । विभागको विगतका स्पष्टीकरणमा भिसा म्याद सकिने र “आतङ्कवादलाई समर्थन लगाएतका कारणले भिसा रद्द गरिएको जनाइएको छ ।
गाजा द्वन्द्वसँग सम्बन्धित विरोध प्रदर्शनमा भाग लिने अन्तर्राष्ट्रिय विद्यार्थी पनि त्यस्तै गरी कडा छानविनमा परेको जनाइएको छ । यो कार्यले गत अगस्तमा उल्लिखित विभागको योजना अनुरुप भएको र वैध अमेरिकी भिसा भएका पाँच करोड पचास लाख भन्दा बढी विदेशीका लागि “निरन्तर जाँच“ प्रणाली लागू गर्न र देशमा बस्ने व्यक्तिलाई निगरानी गर्ने उद्देश्यलाई कार्यन्वयन गरेको जनाइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा, विदेश विभागले भिसा आवेदनको समीक्षा र भिसा भएकाको अनुगमनका लागि आफ्नो मापदण्ड विस्तार गरेको छ । प्रशासनले “एच-१ बी” आवेदकको जाँच पनि बढाएको छ, जुन विशेष विदेशी प्रतिभा खोज्ने अमेरिकी रोजगारदाताका लागि एक प्रमुख कार्यक्रम हो ।
विस्तारित भिसा रद्द, तीव्र जाँच र फराकिलो छानविनले आप्रवासन नियन्त्रणलाई कडा बनाइ आप्रवासीबिचमा भएको उल्लङ्घनलाई थप चुस्त दुरुस्त बनाउने प्रशासनको व्यापक दबाबलाई चित्रण गर्दछ । रासस/एएनआई
