म्यादी प्रहरी अब ‘निर्वाचन प्रहरी’

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८२ ७:०४
म्यादी प्रहरी अब ‘निर्वाचन प्रहरी’

काठमाडौं १६ मंसिर । — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने म्यादी प्रहरीलाई ‘निर्वाचन प्रहरी’ का रूपमा पहिचान दिइने भएको छ । विगतमा निर्वाचन सुरक्षार्थ कार्यअवधि तोकेर भर्ना भएका सुरक्षाकर्मीलाई ‘म्यादी प्रहरी’ उल्लेख गरिएकामा यो पटक म्यादी प्रहरीको साटो ‘निर्वाचन प्रहरी’ नामकरण गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षाअन्तर्गत अवधि तोकेर नेपाल प्रहरीको नेतृत्वमा रहेर गरी भर्ना हुने जनशक्तिलाई निर्वाचन प्रहरीका रूपमा पहिचान दिन लागिएको बताए ।

‘म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नामकरण गरेर ४० दिनको कार्यअवधिसहित भर्ना गर्ने गरी प्रक्रिया अघि बढाइएको छ,’ प्रवक्ता काफ्लेले भने, ‘नामकरण नै सबैथोक त होइन तर म्यादीको साटो निर्वाचन प्रहरी राख्दा एक किसिमको अपनत्व र जुन कामका लागि खटिएको हो, त्यसको पहिचान पनि झल्किन जान्छ, त्यसैले यस पटक निर्वाचन प्रहरीका रूपमा ४० दिन कार्यअवधि तोकेर भर्ना गर्न लागिएको छ ।’

यसका लागि ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड-२०८२’ को मस्यौदा प्रहरी प्रधान कार्यालयबाट बन्ने क्रममा रहेको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन प्रहरी छनोटदेखि कार्यअवधि गणना गरेर मत परिणाम आउन्जेलसम्म निर्वाचन प्रहरीलाई प्रहरीमातहत रहने गरी खटाइने छ । यसरी खटिने सुरक्षाकर्मीलाई प्रहरी जवानले पाउने आधारभूत तलबमानअनुसार पारिश्रमिक पाउने छन् भने जवानले तत्‌तत् जिल्लामा पाउने स्केलअनुसार रासन भत्ता दिइने छ । विगतको अभ्यासअनुसार पोसाक भत्ता, यात्रा गर्दा आउने सवारी भत्ता पनि उनीहरूलाई दिइने छ ।

आसन्न निर्वाचनमा करिब १ लाख ३० हजार ‘निर्वाचन प्रहरी’ भर्ना गर्ने सरकारको तयारी छ । गृह मन्त्रालयका अनुसार २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । त्यही वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा करिब १ लाख म्यादी भर्ना भएका थिए । त्यसअघि २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा करिब ९८ हजार र त्यही वर्षको स्थानीय तह निर्वाचनमा ७५ हजार तथा २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस