२० लाख धरौटीमा रिहा भए पूर्वसभामुख महरा

द एभरेष्ट पोष्ट
१२ मंसिर २०८२ १६:१५
२० लाख धरौटीमा रिहा भए पूर्वसभामुख महरा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

उनलाई गत असोज २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो  (सीआईबी) ले पक्राउ गरेको थियो ।

१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए ।

उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो । ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको थियो ।

उक्त सुन भन्सारका नासु रेवनत खड्का समेतको मिलेमतोमा बेचिएको अनुसन्धानले खुलाएको थियो ।

उक्त सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो । यो प्रकरणका उनका छोरा राहुल महरा यसअघि पक्राउ परेर कारागार समेत चलान भएका थिए ।

दुई वटा सुटकेश शंकास्पद देखिएपछि चेकजाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हासोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।

भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस