टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित
काठमाण्डाै – भारतसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले ‘क्लीन स्वीप’ गरेको छ । गुवाहिटीमा भएको टेस्टमा घरेलु टोली भारतलाई ४ सय ८ रनले हराउँदै दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको हो ।
टेस्ट क्रिकेटमा रनकाे हिसाबले भारतको यो अहिलेसम्मकै ठूलो हार हो । यसअघि सन् २००४ मा नागपुरमा अस्ट्रेलियाले भारतलाई ३ सय ४२ रनले हराएको थियो ।
यस्तै रनको हिसाबले दक्षिण अफ्रिकाको यो दोस्रो ठूलो जीत हो । यसअघि सन् २०१८ मा जोहनेसबर्गमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ४ सय ९२ रनले हराएको थियो ।
यस्तै दक्षिण अफ्रिकाले भारतमा दोस्रो टेस्ट शृङ्खला जितेको हो । याेभन्दा पहिलाे २५ वर्षअघि सन् २००० मा दक्षिण अफ्रिकाले २–० ले क्लिन स्वीप गरेको थियो ।
यस्तै भारतले घरेलु मैदानमा दुई वर्षमा दुई वटा टेस्ट शृङ्खला गुमाएको छ । गएको वर्ष भारत न्युजिल्यान्डसँग ३–० ले पराजित भएको थियाे ।
दक्षिण अफ्रिकाले दिएको ५ सय ४९ रनको लक्ष्य पछ्याएको भारत दोस्रो पारीमा पाँचौं दिनको चिया समयपछि १ सय ४० रन बनाउँदा अलआउट भयो । भारतका रविन्द्र जडेजाले सबैभन्दा धेरै ५४ रन बनाए । दक्षिण अफ्रिकाका सिमोन हार्मरले ६ विकेट लिए ।
दक्षिण अफ्रिकाले दोस्रो पारीमा ५ विकेट गुमाएर २ सय ६० रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टुब्सले ९४ रन बनाए । भारतका रविन्द्र जडेजाले ४ विकेट लिए ।
यसअघि गुवाहिटीको बरसपारा क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ सय ८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका सेनुरन मुथुस्वामीले १ सय ९, मार्काे यान्सेनले ९३ रन बनाए । भारतका कुलदीप यादवले ४ विकेट लिए ।
भारत पहिलो पारीमा २ सय १ रनमा अलआउट भएको थियो । भारतका यशस्वी जैसवालले सबैभन्दा धेरै ५८ रन बनाए । दक्षिण अफ्रिकाका मार्काे यान्सेनले ६ विकेट लिए ।
पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ३० रनले हराएको थियो । अब भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको एकदिवसीय र पाँच खेलको टी–२० शृङ्खला शुरू हुनेछ ।
