साइबर अपराधका घटना ११९ प्रतिशतले बढे , सबैभन्दा बढी पीडित महिलाहरू
काठमाडौं । नेपालमा साइबर अपराधका घटनामा महिलाहरू सबैभन्दा धेरै पीडित हुने गरेका देखिएको छ ।
आर्थिक वर्ष २०८०/८१ (साउनदेखि असारसम्म) साइबर अपराधका १९ हजार ७३० वटा घटना भएका थिए । जसमा आठ हजार ७४५ (४४ प्रतिशत) भन्दा बढी पीडित महिला रहेको नेपाल प्रहरीको तथ्यांक छ । त्यसपछि एलजीबीटीक्यू ७६७ र बालिका ३८२ जना पीडित भएका छन् ।
साइबर अपराधको माध्यम सबैभन्दा बढी फेसबुक मेसेन्जर हुने गरेको पनि प्रहरीको भनाइ छ । प्रहरीका अनुसार साइबर अपराधका घटना अघिल्लो आर्थिक वर्षको तुलनामा ११९ प्रतिशतले बढेका छन् ।
यसैबीच, लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान मंगलबारदेखि सुरु भएको छ । यो अभियान सन् १९९१ देखि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा मनाइँदै आइएको छ ।
महिलामाथि भइरहेका विभिन्न हिंसा, विभेद, न्यायमा पहुँचको अवरोध, राजनीतिक असमानता र पितृसत्तात्मक संरचनाबाट उत्पन्न चुनौतीलाई उठाउँदै आए पनि हिंसाको स्वरूप फेरिएको महिला अधिकारका विषयमा काम गर्ने अधिकारकर्मीको भनाइ छ ।
