नेत्रहीन महिला विश्वकप फाइनल : नेपालले भारतलाई दियो ११५ रनको लक्ष्य
काठमाडौं – नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपालले भारतलाई ११५ रनको लक्ष्य दिएको छ।
श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा ११४ रन बनाएको हो।
नेपालका लागि शान्ता घिमिरेले नटआउट सर्वाधिक ३३ रन बनाइन भने बिन्दा राईले २६ रन जोडिन्। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। भारतले केही बेरमा नेपालविरुद्ध जवाफी ब्याटिङ गर्नेछ।
दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।
