टस हारेर पहिले ब्याटिङ गर्दै काठमाडौं गोर्खाज
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विराटनगरले टस जितेर बलिङ रोजेको छ ।
करण केसीको कप्तानीमा काठमाडौं गोर्खाज विराटनगरसँग खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग हारेको थियो ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो । यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।
