कर्णाली याक्समाथि चितवन राइनोजको सानदार जित

द एभरेष्ट पोष्ट
३ मंसिर २०८२ १५:३४
कर्णाली याक्समाथि चितवन राइनोजको सानदार जित

काठमाडौं । चितवन राइनोजले दोस्रो संस्करणको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुवात गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा चितवनले कर्णाली याक्समाथि ४ विकेटको सानदार जित हासिल गरेको हो ।

कर्णालीले जितका लागि दिएको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । राइनोजको जितमा विदेशी खेलाडी रवि बोपारा र युवा ब्याट्सम्यान सैफ जैब को आक्रामक इनिङ निर्णायक बन्यो।

लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजको सुरुवात मध्यम रह्यो। ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्का सहित ४२ रन बनाएर मध्यक्रमलाई बलियो आधार दिए । तर, त्यसपछि क्रिजमा आएका अनुभवी रवि बोपाराले इनिङ्सलाई सम्हाल्दै आक्रामक रूप दिए।

बोपाराले मात्र ३६ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले, जसमा ३ चौका र ३ आकर्षक छक्का सामेल थिए। कप्तान कुशल मल्लले पनि १५ बलमा २ छक्कासहित २० रनको योगदान दिए।

तर, खेललाई कर्णालीको पकडबाट खोस्ने काम छैटौं नम्बरमा आएका सैफ जैबले गरे। उनले मात्र १६ बलमा २ चौका र ४ गगनभेदी छक्काको मद्दतले ३८ रन बनाउँदै आफ्नो स्ट्राइक रेटलाई उच्च राखे। उनले अन्तिम ओभरतिर रनको वर्षा गर्दै टोलीलाई जितको नजिक पुर्‍याए । अन्त्यमा अर्जुन साउदले ८ रन जोड्दै टोलीलाई सानदार जित दिलाए।

चितवन राइनोजको ब्याटिङ सामु कर्णाली याक्सका बलरहरूले खासै प्रभाव जमाउन सकेनन्। कर्णालीका लागि कप्तान सोमपाल कामीले २ विकेट लिए भने मार्क वाट, युवराज खत्री र युनिश सिंहले १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएकाे थियाे । कर्णाली याक्सका लागि ओपनर प्रियांक पञ्चालले शानदार प्रदर्शन गर्दै टोलीको स्कोर उकासेका थिए । पञ्चालले ४८ बलमा ६ चौका र ७ छक्काको मद्दतले ९० रनको विष्फोटक पारी खेले ।

मध्यक्रममा पवन सर्राफले पनि आक्रामक ब्याटिङ गर्दै १६ बलमा ३ छक्कासहित २७ रन बनाए भने अर्का ओपनर म्याक्स ओ’डाउडले २० रनको योगदान दिएका थिए तर जितका लागि पर्याप्त हुन सकेन ।

यता चितवन राइनोजका लागि सोहेल तनवीर, साई जैब र रवि बोपाराले समान १-१ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस