एनसेल फाउन्डेसनले एनपीएलका प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौं। एनसेल फाउन्डेसनले यो वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकाबापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चारवटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।
गत वर्ष एनपीएलसँगको साझेदारीअन्तर्गत दुई हजार ६१२ विद्यार्थी लाभान्वित भएका थिए । यो वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो ।
गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका दुई हजार ६१२ सहित एनसेलले देशभरका नौ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ ।
क्रिकेटदेखि कक्षाकोठासम्मको यो नवीन पहलले विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यको अवसरका ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।
विद्यार्थीले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायत स्टेसनरी सामान समावेश हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ । पठनपाठनमा योगदान गर्नेछ ।
“क्रिकेटले हामी सबैलाई जोडेको छ, एनपीएलसँगको यस सहकार्यमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरूको उज्यालो भविष्यको लागि यो पहललाई अझै अगाडि बढाउन पाएकोमा हामी धेरै खुसी छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले भनिन्, “खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीहरूले भविष्यमा प्राप्त गर्ने अवसर, सिकाइ र हुर्काइसँग जोडिनेछन् ।”
एनसेलका अनुसार, फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यान्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ ।
