शहीद गौरव जोशीको स्मृतिमा स्टार सिटी कप फुटसल प्रतियोगिता हुने
धनगढी । जेन–जी आन्दोलनका शहीद गौरव जोशीको स्मृतिमा धनगढीमा ‘प्रथम स्टार सिटी कप फुटसल प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । स्टार सिटी युवा क्लबले आयोजना गर्ने उक्त फुटसल बारे शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो । फुटसल मङ्सिर १० गतेदेखि वाल्मीकि इन्टरनेशनल स्कुलको फुटसल मैदानमा हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार धनगढीका सबै वडाहरूको फुटसलमा सहभागिता रहनेछ।
प्रतियोगिताको बिजेताको पुरस्कार १ लाख, उपविजेताको ५० हजार रहनेछ । प्रवेश शुल्क भने ५,५०० तोकिएको छ। उमेर हद नहुने तर खेलाडी सोही वडाका हुनुपर्ने नियम रहेको क्लबले जनाएको छ। क्लबका अध्यक्ष नरेन्द्र शाहले यो प्रतियोगिता आगामी वर्षहरूमा पनि निरन्तर गर्ने प्रतिबद्धता जनाए। उनले फुटसल प्रतियोगिता गौरव जोशीले जेन–जेड आन्दोलनमा निर्वाह गरेको भूमिकाको सम्झना र सम्मान स्वरूप आयोजना गरिएको समेत बताए।
‘गौरव अब सबैको छोरा भइसके’ -बुबा बासुदेव जोशी
पत्रकार सम्मेलनमा बोल्दै शहीद गौरवका बुबा बासुदेव जोशीले राष्ट्रका लागि छोराले ज्यान गुमाउनु परेको पीडा व्यक्त गरे । जोशी भन्छन्, “गौरवको धेरै याद आउँछ। तर उसको योगदानलाई सम्झिएर सबैले सम्मान गर्दै गरेको देख्दा गर्व लाग्छ। मेरो मात्रै होइन, अब गौरव सबैको छोरा भइसकेको छ।”
उनले छोराको स्मृतिमा फुटसल प्रतियोगिता आयोजना हुन लागेकोमा खुसी व्यक्त गर्दै निरन्तर सम्मानको अपेक्षा व्यक्त गरे।
