क्रिकेट महोत्सव नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि शुरु
काठमाडौं १ मंसिर । नेपाली क्रिकेटको महोत्सव मानिने नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आज (सोमबार)बाट सुरु हुँदै छ । २७ दिन अर्थात् २७ मंसिरसम्म खेल हुनेछ । यसपालिको ‘एनपिएल’ यसकारण पनि थप आकर्षण छ कि लिग हुने त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बदलिएको छ भने पहिलोपटक ‘फ्लड लाइट’मा प्रतियोगिता हुँदै छ । ३२ मध्ये २३ खेल रातमा हुँदै छन् ।
सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ‘फ्लड लाइट’को स्विच थिचेर रंगशाला राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेका छन् । सरकारले ४२ करोड १९ लाख ९१ हजार लागतमा ६ पोलमा लाइट जडान गरेको हो ।
एनपिएलमा संघीय संरचनाअनुसार सातै प्रदेशको प्रतिनिधित्व छ । कोशी प्रदेशबाट विराटनगर किंग्स, मधेश प्रदेशबाट पहिलो संस्करणको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स, बागमती प्रदेशबाट दुई टोली काठमाडौं गोर्खाज र चितवन राइनोज, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, सुदूरपश्चिमबाट गत वर्ष उपविजेता बनेको सुदूरपश्चिम रोयल्स र कर्णाली प्रदेशबाट कर्णाली याक्स सहभागी हुँदै छन् ।
स्वदेशी मात्रै होइन, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आयोजना गर्ने टी–२० विश्वकप र एकदिवसीय विश्वकप जितेकादेखि चर्चित क्रिकेट लिग खेलिसकेका विदेशी खेलाडी एनपिएलका लागि त्रिवि रंगशालामा उत्रिँदै छन् । ठुला घरानाले लगानी गरेको एनपिएलमा हरेक फ्रेन्चाइज टोलीले १० देखि १५ करोडसम्म खर्च गर्दै छन् । पहिलो संस्करणमा एक सय करोड भ्यालु बनाएको क्यान दोस्रो संस्करण अझै ब्रान्ड बढाउने योजनामा छ । यो प्रतियोगितामा नेपाली खेलाडीले दुई लाखदेखि २० लाखसम्म कमाउनेछन् । सहभागी सबै टोलीले आफ्ना १६ खेलाडीसहित अफिसियललाई पाँचतारे होटेलको सुविधा दिएर राखेका छन् । प्रतियोगिताले नेपालमा पर्यटन प्रवद्र्धन हुने र अर्थतन्त्र सुधार्न टेको बन्ने अपेक्षा गरिएको छ ।
क्यान सचिव पारस खड्काले एनपिएल राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको बताए । ‘क्रिकेटको माध्यमबाट हामीले राम्रो म्यासेज दिएका छौँ । मेरो विचारमा राज्यले माथिल्लो लेभलमा सोचेर हेर्नुपर्छ । राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको छ,’ उनले भने, ‘अब एनपिएल घरेलु क्रिकेट मात्र नभएर अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ । यो प्रतियोगितालाई साथ सहयोग चाहिन्छ । एनपिएलमा स्थानीय खेलाडीले पनि आर्थिक रूपमा फाइदा लिनेछन् ।’
