निवर्तमान आईजीपीलाई पनि उपत्यका नछोड्न आदेश

द एभरेष्ट पोष्ट
२९ कार्तिक २०८२ ७:१४
निवर्तमान आईजीपीलाई पनि उपत्यका नछोड्न आदेश

काठमाडौं २८ कार्तिक । २३–२४ भदौका घटना जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीलाई एकपछि अर्को गर्दै स्थानहद तोकेर कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्दै आएको छ । तर सम्बन्धित कसैलाई पनि आधिकारिक जानकारी गराइएको छैन । आयोगले उनीहरूसँग सोधपुछ पनि गरेको छैन ।

आयोगले पछिल्लो पटक बिहीबार निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउन र स्वीकृतिबेगर उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ ।

आईजीपीबाट अवकाश पाएकै दिन बिहीबार खापुङलाई स्थानहद गर्ने निर्णय आयोगले लिएको हो । उनलाई जाँचबुझका लागि जुनसुकै बेला आयोगमा उपस्थित हुनुपर्ने भएकाले यात्रामा रोक लगाउन सिफारिस गरिएको आयोगले जनाएको छ ।

यसअघि १२ असोजमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई स्थानहद तोकिएको थियो । आयोगको सिफारिसका आधारमा तत्कालै सरकारले उनीहरूलाई विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस