जर्जियामा टर्कीको सैन्य कार्गो विमान दुर्घटना २० जनाको मृत्यु
एजेन्सी- टर्कीको एक सैन्य कार्गो विमान जर्जियामा दुर्घटना हुँदा विमानमा सवार २० जनाको मृत्यु भएको छ। टर्कीका रक्षामन्त्री यासर गुलरले बुधबार यस दुखद घटनाको पुष्टि गरेका छन्।
टर्कीको सी १३० सैन्य कार्गो विमानअजरबैजानबाट टर्कीतर्फ फर्कने क्रममा अजरबैजान सीमा नजिकै जर्जियाको सिघनाघी मा दुर्घटनाग्रस्त भएको बताइएको छ। टर्कीको दुर्घटना अनुसन्धान टोली बुधबार बिहानै दुर्घटनास्थलमा पुगेको र धेरै ठूलो क्षेत्रमा फैलिएको विमानको भग्नावशेषको निरीक्षण गरिरहेको टर्कीका प्रसारक हाबर्टुर्कले जनाएको छ।
टर्कीको सरकारी एजेन्सी अनाडोलु एजेन्सीले मंगलबार जर्जियाली उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेको केही मिनेटपछि नै सम्पर्कविहीन भएको जानकारी दिएको थियो। विमानले कुनै संकट संकेत जारी नगरेको पनि प्राधिकरणले बताएको छ।
अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ र जर्जियाली विदेशमन्त्री माका बोटचोरिशभिलीले आफ्ना टर्कीका समकक्षीहरूप्रति समवेदना व्यक्त गरेका छन्। अनाडोलु एजेन्सीका अनुसार राष्ट्रपति अलियेभले एक सन्देशमा भनेका छन्, ‘जर्जियाली भूमिमा भएको दुर्घटनामा हाम्रा सैनिकहरूको ज्यान गएको खबरले हामी गहिरो स्तब्ध भएका छौं।’
विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।
