सेती राजमार्ग निर्माणको काममा ढिलासुस्ती

द एभरेष्ट पोष्ट
२४ कार्तिक २०८२ १६:१८
सेती राजमार्ग निर्माणको काममा ढिलासुस्ती

कैलाली- त्रिदेशीय महत्वको सेती राजमार्ग निर्माणको काम कछुवा गतिमा अघि बढिरहेको छ । निर्माण सुरु भएको १६ वर्षमा ट्रयाक खोल्ने काम समेत सकिएको छैन । कैलालीको टीकापुरबाट बझाङको ताक्लाकोटसम्मको ३५९ मध्ये हालसम्म २१२ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ ।

राजमार्ग निर्माणको कामलाई दुई भागमा विभाजन गरिएको छ । कैलाली, डोटी, अछाम र बाजुरा जिल्ला हेर्ने गरी सेती राजमार्ग (दक्षिण खण्ड) र बझाङ हेर्ने गरी सेती राजमार्ग (उत्तर खण्ड) नामाकरण गरिएको छ । दक्षिण खण्ड हेर्न अछामको साँफेबगर र उत्तर खण्ड हेर्न बझाङको चैनपुरमा योजना कार्यालय राखिएका छन ।

दक्षिण तर्फको २०४ किलोमिटर मध्ये १३६ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको सेती राजमार्ग (दक्षिण खण्ड) का सूचना अधिकारी इन्जिनियर केशवदत्त मिश्रले जानकारी दिए । उनका अनुसार कैलालीको टीकापुरबाट खिमडीसम्मको ७२ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको छ । त्यस्तै अछामको ८० किलोमिटरमा ५८ किलोमिटरमा ट्रयाक खोलिएको छ ।

डोटीको ४० किलोमिटरमा ६ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ भने बाजुराको १२ किलोमिटरमा ट्रयाक खोल्ने काम सुरु हुन सकेको छैन ।

सूचना अधिकारी मिश्रले डोटीमा रुख काट्ने प्रकृयामा भएको ढिलाई र बाजुरामा खप्तड राष्ट्रिय निकुञ्जका कारण काम ढिलो भएको बताए । ‘डोटीमा रुख काट्न दुई वर्ष कुर्नु पर्यो यता बाजुरामा भर्खरै ईआईए भैरहेको छ’ उनले भने,‘जतिसक्दो छिटो गर्ने प्रयास भैरहेको छ ।’

राजमार्ग निर्माणको काम आव २०६६/०६७ मा सुरु भएको थियो । करिव एक दशक निर्माणको काम सडक डिभिजन कार्यालय महेन्द्रनगरले आफै हेर्यो । आव २०७४/०७५ मा भने दुई छुट्टाछुट्टै योजना कार्यालय स्थापना गरेर काम अघि बढाईयो । त्यसपछिका वर्षहरुमा भने राजमार्ग निर्माणको कामले केही हदसम्म गति लिएको सूचना अधिकारी मिश्र बताउँछन ।

कैलालीको मुख्य काम सकिएको सेती राजमार्ग (दक्षिण खण्ड) का योजना प्रमुख रामकुमार देवले जानकारी दिए । उनले टीकापुरबाट खिमडीसम्म हिउँदको समयमा सवारी साधन सञ्चालन गर्न सकिने बताए । ‘वर्षायाममा मात्रै समस्या होला नत्र हिउदमा कुनै समस्या छैन’ उनले भने, ‘हामी छिटो गर्ने प्रयासमै छौ ।’

उनले प्रयाप्त बजेट विनियोजन नभएका कारण पनि काम सुस्त भैरहेको बताए । राजमार्ग निर्माणमा १६ अर्ब लागत अनुमान गरिएको छ । चालु आवमा २५ करोड मात्रै बजेट विनियोजन भएको छ । ‘स्रोतको कमी छ’ योजना प्रमुख देवले भने,‘स्रोत घट्दै जाने हो भने कालोपत्रे हुन त अझै समय लाग्न सक्छ ।’

राजमार्गमा पर्ने विभिन्न ठूला साना नदी/खोलाहरुमा पुल निर्माणको काम भैरहेको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ३ कोल्तडीस्थित झाप्री खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बर्दगोरीया गाउँपालिकाका कुईरे खोला र काँडा खोलामा पुल निर्माण भैसकेको छ ।  कैलाली र डोटीको सिमानामा पर्ने ठूलीगाड र डोटी र अछामको सिमानामा पर्ने सेती नदीमा पुल निर्माणको प्रकृया सुरु हुन सकेको छैन ।

उता सेती राजमार्ग (उत्तर खण्ड) को १५५ किलोमिटर मध्ये ७६ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको योजना प्रमुख बिरेन्द्रकुमार यादवले जानकारी दिए । उनले बाजुरा र बझाङको सिमाना थामलेकबाट चैनपुरसम्मको ३६ र चैनपुरबाट ताक्लोटसम्मको ४० किलोमिटरमा ट्रयाक खोलेको बताए । उनका अनुसार चैनपुरबाट ताक्लाकोटसम्मको सडकमा भौगोलिक कठिनाईले ट्रयाक खोल्ने काम सुस्त भैरहेको छ ।

‘कडा चट्टान छन । निकै भौगोलिक समस्या छ’ उनले भने,‘तैपनि छिटो गर्ने प्रयास भैरहेको छ ।’  उनले बजेट विनियोजनको अवस्थाले पनि राजमार्ग निर्माणको काम प्रभावित भैरहेको जानकारी दिए ।

यो राजमार्ग दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनलाई जोड्ने उद्देश्यले निर्माण भैरहेको छ । राजमार्ग निर्माणको चर्चा भने वि.सं. २०४२ मै सुरु भएको थियो । तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजमार्ग निर्माणको अवधारणा अघि सारेका थिए । उनी देशको चार पटक प्रधानमन्त्री बने । आफैँले अघि सारेको राजमार्ग निर्माणको काम सुरुवात गर्न सकेनन् । उनी २०३९, २०४६, २०५३ र २०५९ मा प्रधानमन्त्री बनेका थिए ।

सुदूरपश्चिमकै शेरबहादुर देउवा चन्द भन्दा बढी पटक बढी प्रधानमन्त्री बने । देउवा २०५१, २०५७, २०६१, २०७३ र २०७७ गरी पाँच पटक प्रधानमन्त्री बने । देउवाको कार्यकालमा समेत यो राजमार्ग निर्माणको कामले गति लिन सकेन ।

राजमार्ग निर्माणको काम २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले सुरु गरेको थियो । पहिलो पटक नेपाल नेतृत्वको सरकारले आव २०६६/०६७ मा बजेट विनियोजन गर्यो ।

तत्कालिन समयमा राष्ट्रिय योजना आयोगको सदस्य रहेका डा. प्रेमबहादुर कुँवर राजमार्ग निर्माणको सुरुवात निकै संघर्ष गर्नुपरेको स्मरण गर्छन । उनले आफूले महत्वका साथ अघि बढाएको राजमार्ग निर्माणको कामलाई तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले अवरोध गरेको बताए ।

‘मन्त्रालयमै गएर झगडा गर्नु परेको थियो’ उनले भने,‘राज्यको प्राथमिकतामा नपरेकै कारण राजमार्ग निर्माणको कामले गति लिन सकेको छैन ।’

यो राजमार्गसँग कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल जोडिएका छन । हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिने कैलाश मानसरोवरसम्म पुग्न यो राजमार्ग निकै छोटो स्थल मार्ग हुनेछ ।

राजमार्गले सुदूरपश्चिम र कर्णालीका धेरै जिल्लाका बासिन्दालाई तराई झर्न सहज हुने युवानेता रंग अधिकारी बताउँछन । उनले हाल दिनभरीको यात्रा गर्नुपर्ने वाध्यता यो राजमार्ग निर्माण भएपछि केही घण्टाको दूरीमा पार गर्न सकिने बताए । ‘अछाम, बाजुरा र बझाङका बासिन्दाका लागि त निकै छोटो हुने नै छ’ उनले भने, ‘यो सँगै अरु जिल्लाका बासिन्दालाई समेत पायक पर्ने देखिन्छ ।’

निकै महत्वको राजमार्ग निर्माणको काममा भैरहेको ढिलासुस्तीले स्थानीय बासिन्दा दिक्क भएका छन । मोहन्याल गाउँपालिका वडा नम्बर २ कोल्तडीका तिलक थापाले १२ वर्षको उमेरमा राजमार्ग निर्माणको कुरा सुनेका थिए । अहिले उनी ३७ वर्षका भैसके । ‘बुढेशकालले छुने अवस्था भैसक्यो अहिलेसम्म सडक बन्ने ठेगान छैन’ उनले भने, ‘हाम्रो सपना कहिले पूरा हुने हो थाहा छैन ।’   नागरिक न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस