धनगढीमा ‘ट्यालेन्ट हन्ट’ सुरु, पहाडमा ट्रफी टुर नभएकोमा विरोध

द एभरेष्ट पोष्ट
२४ कार्तिक २०८२ १३:०७
धनगढीमा ‘ट्यालेन्ट हन्ट’ सुरु, पहाडमा ट्रफी टुर नभएकोमा विरोध

धनगढी- नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सले कैलालीको धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गरेको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) आजदेखि सुरु भएको ट्यालेन्ट हन्ट भोलि पनि सञ्चालन हुने सुदूरपश्चिम रोयल्स प्रा.लिले जनाएको छ ।

टोलीका मुख्य प्रशिक्षक जगत टमटाले हन्टबाट उत्कृष्ट एक खेलाडीलाई छनोट गरेर रोयल्सको स्क्वाइडमा समावेश गरिने जानकारी दिए । ‘टिमको आवश्यकताअनुसार ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई पनि एनपीएलका खेलमा अवसर दिइनेछ,’ टमटाले भने ।

ट्यालेन्ट हन्टको पहिलो दिन १३४ जना खेलाडीले सहभागिता जनाउने रोयल्सले जनाएको छ । ट्यालेन्ट हन्ट सञ्चालनका लागि टोलीका मुख्य प्रशिक्षक टमटासँगै रोयल्सका खेलाडीहरू विनोद भण्डारी, इशान पाण्डे, नरेन साउँदलगायतको सहभागिता रहेको छ ।

एनपीएलको साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि यसअघि नै प्रशिक्षण सुरु गरिसकेको छ । टोलीका मालिक स्वतन्त्र प्रताप शाहले सुदूरपश्चिममै खेल मैदान उपलब्ध गराइए एनपीएल तयारी पनि आफ्नै प्रदेशमा गर्न तयार रहेको बताएका छन् ।

पहाडमा ट्रफी टुर नभएपछि विरोध

सुदूरपश्चिममा एनपीएलको ट्रफी टुर सकिएको छ । शुक्रबार कैलालीको टीकापुर पार्कबाट सुरु भएको टुर कञ्चनपुरको दोधारा हुँदै धनगढीमा शनिबार सम्पन्न गरियो । तर, ट्रफी टुरको कार्यक्रम सुदूरपश्चिमका पहाडी जिल्लामा नभएपछि विरोध भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सुदूरपश्चिम अध्यक्ष बासुदेव जोशीले पनि असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष जोशीले पहाडी जिल्लाहरूप्रति उपेक्षा गरिएको आरोप लगाउँदै यस्तो निर्णयले पहाडी क्षेत्रका खेलाडी र क्रिकेट प्रेमीहरूको भावनामा ठेस पुगेको बताएका हुन् ।

‘अध्यक्षज्यू आफैँ पहाडबाट उठेका, पहाडीको घामपानी खाएका व्यक्ति, तर कार्यक्रम किन तराईमै सीमित ? पहाडलाई किन हरेकपटक दोस्रो दर्जाको मानिँदै छ,’ जोशीले भनेका छन् । समाजिक सञ्जालमा खेलप्रेमीले पनि ट्रफी टुर सुदूर पहाडमा नभएको भन्दै विरोध गरेका छन् ।

यता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसवर्ष समन्वयमा अभाव भएको बताउँदै अर्को वर्ष सुदूरपश्चिमका पहाडी जिल्लामा पनि ट्रफी यात्रा गराइने बताए । ‘ट्रफी टुरको कार्यक्रम टिमले व्यवस्थापन गर्ने हो,’ अध्यक्ष चन्दले भने, ‘यस वर्ष समन्वयमा अभाव भयो । अर्को वर्ष खप्तड र अपी बेस क्याम्पमा ट्रफी पुगाउने सोच छ ।’

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले प्रदेशमा ट्रफी टुरका लागि क्यानबाट दुई दिनको मात्रै समय पाएको हुँदा यसपटक पहाडी जिल्लामा सम्भव नभएको बताए । ‘सुर्खेतबाट अछाम, डोटी हुँदै डडेल्धुरालगायतका जिल्लामा ट्रफी टुरको कार्यक्रम राख्ने हाम्रो योजना हो,’ खड्काले भने, ‘दुई दिनको मात्रै समय पाउँदा सम्भव हुने देखिएन । यसपटक तराईका जिल्ला गरियो । अर्को वर्ष पहाडी जिल्लामा ट्रफी टुर हुन्छ ।’

रोयल्सका मालिक शाहले ट्रफी टुर सुदूरपश्चिमभर गर्ने इच्छा भएर पनि समय अभावले कैलाली र कञ्चनपुरमा मात्रै सीमित भएको बताए । ‘उत्कृष्ट प्रदर्शन गर्दै एनपीएलको उपाधि जितियो भने ९ जिल्लामै ट्रफीसहित हामी जान्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस