शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार तत्काल नियुक्तिको माग

द एभरेष्ट पोष्ट
२१ कार्तिक २०८२ १६:१७
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार तत्काल नियुक्तिको माग

कैलाली: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र सञ्चालन प्रक्रियामा सरकार अघि बढेकामा स्थानीय सरोकारवालाहरूले स्वागत गरेका छन्।

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिले प्रधानमन्त्री कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै विश्वविद्यालयको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेको छ। समितिका सचिव धर्मसिंह कुँवर, सह–संयोजक आनन्दप्रसाद भट्ट, र संयोजक लोकराज पाण्डेले हस्ताक्षर गरेको ज्ञापनपत्रमा विश्वविद्यालय ऐतिहासिक उपलब्धिको रुपमा स्थापित हुँदै गएको उल्लेख छ। ज्ञापनपत्रमा सुदूरपश्चिमेली जनताको लामो संघर्ष र चाहनाबाट जन्मिएको यो विश्वविद्यालयले सम्पूर्ण क्षेत्रको स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवा प्रवर्द्धनमा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरिएको छ।

समितिले गेटा, धनगढीस्थित विश्वविद्यालयलाई शीघ्र कार्यान्वयनमा ल्याउन र आवश्यक प्रशासनिक तथा शैक्षिक प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ। ज्ञापनपत्रमा विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारसहितका महत्त्वपूर्ण पदहरूमा तत्काल नियुक्ति गर्न माग गरिएको छ।

छिटो ६ सय शय्याको अस्पतालसञ्चालन गर्न र शैक्षिक सत्र २०८२ बाट नै एमबिबिएस  अध्ययन–अध्यापन कार्य प्रारम्भ गर्न माग गरिएको छ। समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकारलाई विश्वविद्यालयको कार्यान्वयन प्रक्रियामा सक्रिय सहयोग र ध्यानाकर्षणका लागि हार्दिक धन्यवाद व्यक्त गरेको छ।

विज्ञान, शिक्षा र सेवा क्षेत्रको सन्तुलित विकासका लागि सुदूरपश्चिममा यो विश्वविद्यालयको सफल स्थापना अनिवार्य रहेको समितिको भनाइ छ। ज्ञापनपत्र कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत  प्रधानमन्त्री कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस