१२ घण्टायता यी प्रदेशमा वर्षा र हिमपात, मौसम विभागले जारी गर्यो चेतावनी
काठ्माण्डौ- बितेका १२ घण्टादेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आज मंगलबार बिहान १० बजे दिएको जानकारीअनुसार गएको १२ घण्टामा विशेषगरी गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान साथै कोसी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका पहाड र तराई भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको हो।
गण्डकी प्रदेशका मनाङ र मुस्ताङ आसपासका हिमाली क्षेत्रमा भने मध्यमदेखि भारीसम्म हिमपात भइरहेको मौसम विभागले जानकारी दिएको छ।
सजग गराउँदै विभागले अगाडि भनेको छ, ‘वर्षा/हिमपात भइरहेका स्थानहरूमा थप वर्षा/हिमपात हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’
