न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित गर्न स्वास्थ्यकर्मीको धर्ना

कैलाली । निजी अस्पतालका स्वास्थ्यकर्मीहरूले न्यूनतम पारिश्रमिक, अतिरिक्त भत्ता र कानुनी प्रावधानअनुसारका सेवा–सुविधाको माग गर्दै धनगढीमा धर्ना दिएका छन्।
धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला प्रशासन कार्यालय, कैलाली अगाडि र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा धर्ना सुरु गरेका हुन। धर्ना निजी अस्पतालहरूको संयुक्त आयोजनामा गरिएको हो भने नवजीवन अस्पतालकी स्टाफ नर्स आरती भट्टको नेतृत्वमा स्वास्थ्यकर्मीहरू सहभागी भएका थिए।
स्वास्थ्यकर्मीहरू माथिको श्रम शोषण र दमनको अन्त्य गर्दै नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक, अतिरिक्त भत्ता, सेवा–सुविधा र नियुक्ति तथा सम्झौता सम्बन्धी कानुनी प्रावधानको पालना गर्न उनीहरूले माग गरेका छन्। साथै, शैक्षिक सक्कल प्रमाणपत्र कार्यालयमा नराख्ने, कार्य अनुभव प्रमाणपत्र अनिवार्य रूपमा उपलब्ध गराउने र पारिश्रमिक बैङ्किङ प्रणालीमार्फत मात्र वितरण गर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
धर्नाको क्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव मङ्गल बहादुर शाहीले स्वास्थ्य संस्था व्यवस्थापन संस्था ‘अफिम’ का प्रतिनिधिहरूसँग भेट गरेका थिए। उनले स्वास्थ्यकर्मीहरूको माग उचित रहेको स्वीकार गर्दै नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्न र अतिरिक्त भत्ता व्यवस्था गर्ने विषयमा पहल गर्ने आश्वासन दिएका थिए। स्वास्थ्यकर्मीहरूले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।